असन्तुष्ट कांग्रेस सभासदले कूटनीतिक नियोग गुहारे

217
  •  
  •  
  •  

काठमाडौं २५ भदौ ।
संविधानसभाका तीन प्रमुख राजनीतिक दलहरू नेपालको पछिल्लो राजनीतिक अवस्थाप्रति गम्भीर नरहेको भन्दै नेपाली कांग्रेसका केही असन्तुष्ट नेता तथा सभासदले अन्तर्राष्ट्रिय समुदायलाई पत्राचार गरेका छन् । केही सभासदको हस्ताक्षरसहित काठमाडौंस्थित कूटनीतिक नियोगहरूलाई पूर्वमन्त्री समेत रहेका कांग्रेस सभासद सुरेन्द्रप्रसाद चौधरीले पत्राचार गरेका हुन् । सभासद चौधरीले पत्रमा क-कसको हस्ताक्षर रहेको नखुलाई  भने, ‘धेरै साथीहरूको साथ लिएर मैले पत्र पठाएको हुँ ।’

राज्यद्वारा मानवअधिकार उल्लंघन गरिएको भन्दै संघीय समाजवादी फोरमले संयुक्त राष्ट्रसंघलाई तत्काल हस्तक्षेप गरी सामान्य अवस्था पुनःस्थापित गर्न माग गरेको पर्सिपल्ट बुधबार सत्तारूढ दलका नेता चौधारीले उक्त पत्र पठाउनु आफैंमा अर्थपूर्ण मानिएको छ ।
समाजवादी फोरमले राष्ट्रसंघका महासचिव बान कि मुनलाई पत्र लेखी नेपालमा हस्तक्षेप गरी अवस्थालाई सामान्य बनाउन र नयाँ संविधान निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए । तर, सभासद चौधरीले लेखेको पत्रमा भने एउटा खास ‘इन्ट्रेस्ट’ समूहले ‘सिन्डिकेट’ को पारामा आम जनतालाई सहभागी नगराई जनभावना र मर्मविपरीत संविधान निर्माण प्रक्रिया टुंगोमा पुर्‍याउन लागेको उल्लेख छ ।

‘अहिले देशमा दिनहुँ निहत्था जनताले ज्यान गुमाइरहेको अवस्था छ । राज्य पक्षको चरम बेवास्ताको कारण यस्तो अवस्था सृजना भएको’ भन्दै पत्रमा चौधरीले त्यसप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन चाहेको उल्लेख गरेका छन् । ‘संविधान निर्माण भनेको राष्ट्र निर्माण पनि हो । यसमा सबैको सहभागिता आवश्यक पर्दछ । बहुमतीय आधारमा ल्याइएको संविधान कानुनमा त स्वीकारोक्ति होला तर यसले लोकपि्रय वैधानिकता पाउँदैन र दिगो पनि हुँदैन,’ सभासद चौधरीले पत्रमा लेखेका छन्, ‘१० वर्षे माओवादी द्वन्द्व कुनै जनयुद्ध थिएन । तर अहिलेको दलका केही इलिटको सिन्डिकेटले त्यस्तो द्वन्द्व सृजना हुने देखिएको छ ।मुलुकलाई गृहयुद्धमा लैजान उनीहरू उद्यत छन् ।’ 

चौधरीले उक्त पत्र इमेलमार्फत र पि्रन्ट कपी नै राष्ट्रसंघीय नियोग, अमेरिका, भारत, चीन, बेलायत, युरोपेली युनियनलगायत दूतावासमा बुझाएका हुन् । समाजवादीको पत्रमा नेपालभर भएका शान्तिपूर्ण प्रदर्शनमाथि सरकारद्वारा अमानवीय र क्रूर दमन गरिएको जानकारी गराउँदै ‘मानवताविरुद्धको अपराध’ रोक्न भूमिका खेल्न र सचेत गराउन आग्रह गरिएको छ ।

चौधरीले भने सबैलाई गम्भीर हुन आग्रह गर्दै भनेका छन्, ‘नागरिक समाजले सडकमा आन्दोलन गरेको छ । मधेस, थारू, जनजाति अन्य अल्पसंख्यक सबै सडकमा छन् । यसबाट मुठभेड सृजना भएर घटना घटेको छ । यसलाई सामान्य नठानियोस् ।’

कान्तिपुरबाट


  •  
  •  
  •