कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित

146
  •  
  •  
  •  

काठमाडौं । केन्द्रीय सदस्यसहित ५ दर्जनभन्दा बढी नेता तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित भएको छ। गत बिहीबार दिइएको स्वाब परीक्षणका क्रममा पाँच जना केन्द्रीय सदस्य गगन थापा, अर्जुननरसिंह केसी, जंगीलाल राय, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो।

कांग्रेसले केन्द्रीय सदस्य, नेताका स्वकीय सचिव, केन्द्रीय कार्यालयका कर्मचारी र नेताका सुरक्षामा खटिएका सुरक्षाकर्मीलगायत गरी दुई सय ५० जनाको स्वाब परीक्षण गर्न टेकुस्थित प्रयोगशालामा पठाएको थियो।

कांग्रेसले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यको पिसिआर परीक्षण गराएको थियो। फागुनमा तोकिएको १४ औं महाधिवेशन निर्धारित समयमै गर्न सकिन्छ कि कार्यतालिका हेरफेर गर्नुपर्छ ? भन्ने एजेन्डालगायतमा छलफल गर्न केन्द्रीय समिति राखिएको हो।

तर नेताहरूमा कोरोना संक्रमण देखिएपछि सोमबार केन्द्रीय समिति बैठक बस्ने कि नबस्ने अनिश्चित छ। दलका प्रभावशाली नेताहरुलाई कोरोना देखिएपछि आइतबार बिहान ९ बजेका लागि तय गरिएको पार्टी पदाधिकारीको बैठक पनि स्थगित भएको छ।


  •  
  •  
  •