कांग्रेसमा महाधिवेसन केन्द्रित गुटगत भेला सुरु

136
  •  
  •  
  •  

काठमाडौ ११ चैत (ओएनएस) : नेपाली कांग्रेसमा आगामी महाधिवेसनकेन्द्रित गुटगत छलफल सुरु भएका छन् । सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा पक्ष गुटगत भेलामा सक्रिय भएका छन् ।  देउवाले आज आफू निकटका जिल्ला सभापतिको भेला बोलाउनु भएको छ । क्रियाशील सदस्यताको वितरण र नवीकरणका विषयमा छलफल गर्न भेला बोलाएको उहाँ निकट नेताहरुले बताएका छन् ।  देउवा पक्षले संस्थापनबाट पार्टी केन्द्रीय कार्यसमितिको निर्णय र विधान विपरीत क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण गरेको भन्दै आपत्ति जनाएको छ ।

सोमबार बसेको देउवा पक्षीय भेलाले संस्थापन पक्षबाट क्रियाशील सदस्यता वितरण र नवीकरणमा भएको धाँधलीको विरोध गर्दै त्यसलाई सच्याउन आग्रह गर्ने निर्णय पनि लिएको छ । संस्थापन पक्षले पनि कतिपय ठाउँमा देउवा पक्षबाट धाँधली भएको आरोप लगाएको छ । केन्द्रीय कार्यसमितिले क्रियाशील सदस्यताको फारम केन्द्रले जिल्लालाई दिने र जिल्लाले क्षेत्रलाई, क्षेत्रले गाउँलाई दिई वडा कार्यसमितिमार्फत नवीकरण तथा वितरण गर्ने प्रणाली निर्धारण गरेको थियो । पार्टीको विधानमा पनि यही किसिमको व्यवस्था छ ।

संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको निर्णय र पार्टीको विधान विपरीत एकपक्षीय रूपमा क्रियाशील सदस्यताको वितरण र नवीकरण गरेको आरोप देउवा पक्षले लगाउँदै आएको छ । क्रियाशील सदस्यता वितरण प्रक्रिया पारदर्शी बनाउनुपर्ने र नियमसंगत नभएकाहरूको सच्याउनुपर्ने माग देउवा पक्षको छ । १३ औं महाधिवेशन र सदस्य नविकरणका विषयमा छलफल गर्न भेला बोलाएको देउवा निटकका नेता डा प्रकाश शरण महतले जानकारी दिए ।


  •  
  •  
  •