देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता भयो : पौडेल

83
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गरेका छन् ।

बुधबार न्यूज एजेन्सी नेपालका सम्बाददातासँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले विधान मिच्दा आफु बहादुर ठहर्छु भन्ने मानसिकता सभापति देउवामा देखिएको आरोप लगाए ।

विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको उनको भनाइ छ । उनले भने, ‘हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण पटक पटक गर्दै आयौं । तर नेपाली कांग्रेस भित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ की ? विधान मैले जति मिच्न सके म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ । त्यसले यो पार्टी डेमोक्रयाटिक पार्टी नै हो की होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हो ।’

सभापति देउवालाई विधान मिच्ने बानि परिसकेको पौडेलले बताए । आफु बहादुर हुँ भन्ने भ्रम भएकाले सभापतिले पटकपटक विधान मिचेर विभागहरु गठन गरेको टिप्पणी पौडेलले गरे ।

पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्छ भन्दै आफुले ३ वर्ष अघि देखि कार्यतालिका बनाएर काम गरौं भनेको तर सभापति देउवाले नमानेको पौडेलले बताए ।

महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको र अहिलेको असाधारण अवस्थामा गर्न लागिएको महाधिवेशनमा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजेको बताए ।


  •  
  •  
  •