कांग्रेसको छाया सरकार भ्रष्टाचारविरुद्ध कडारुपमा प्रस्तुत हुने

64
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा सरकारको काम कारबाहीको निगरानी र खबरदारी गर्न बनाइएको छाया सरकारले भ्रष्टाचारविरुद्ध कडारुपमा प्रस्तुत हुने निर्णय गरेको छ ।

आइतबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको छाया सरकारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बैठकले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढी कमिसन बार्गेनिङ गरेको विषयलाई सशक्त ढंगले उठाउने निर्णय गरेको छ ।

यस्तै कांग्रेसले बाँस्कोटाको रेक्युरिटी प्रेस खरिद प्रकरणमा भएको बार्गेनिङसम्बन्धी अडियोमा सरकार बाहिर रहेका दलहरुसँग गम्भीर ढंगले छलफल गरी साझा धारणा बनाएर अघि बढ्ने निर्णय समेत गरेको छ ।

कांग्रेसले यसबारे सोमबार अन्य दलसँग बृहद छलफल गर्ने तय गरेको छ । ०७६ सालमा पहिलो पटक बसेको छाया मन्त्रिपरिषद्को बैठकमा छाया मन्त्रीहरुले आफूले गरेका कामहरुको विवरण बैठकमा प्रस्तुत गरेका थिए ।

यस्तै बैठकले वर्तमान सरकार नीतिगत भ्रष्टाचारमा उद्धत भएको निष्कर्ष पनि निकालेको छ । गोकल बाँस्कोटा प्रकरण बाहिरिएको तर अन्य मन्त्रालयमा पनि अवस्था उस्तै रहेको भन्दै बैठकले यसबारे सशक्त रुपमा प्रस्तुत हुन छाया मन्त्रीहरुलाई निर्देशन दिएको छ ।

यस्तै केही छाया मन्त्रीहरुको कार्यसम्पादन कमजोर रहेकाले उनीहरुको जिम्मेवारी हेरफेर गर्ने विषयमा समेत छलफल भएको छ । यसैबीच कांग्रेसले संसदीय समितिमा पनि छाया सभापति बनाउने निर्णय गरेको छ ।


  •  
  •  
  •