कांग्रेसभित्रको विवाद टुंगियो

61
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र डेढ महिना अघिदेखि देखिएको आन्तरिक विवाद सहमतिकै आधारमा टुंगिएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म बसेको शीर्ष नेताहरुको छलफलमा विवाद सहमतिका आधारमा समाधान भएको हो । विवाद समाधान भएपछि माघ १३ गते सोमबारका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

शीर्ष नेताहरुका बीचमा भएको छलफलमा गत पुस ११ गतेको केन्द्रीय समिति बैठकले गरेका निर्णय मध्ये महाधिवेशनको कार्यतालिका र कार्य्विधी संसोधन गर्ने सहमति भएको छ ।

पुस ११ गतेको केन्द्रीय समितिको बहुमतले गरेको निर्णय मध्ये विभागको संख्या थप गर्ने र तरुण दलको कार्यसमितिको म्याद थप गर्ने विषय आपसी छलफल गरि माघ १३ गतेको केन्द्रीय समितिको बैठक अगावै टुंगो लगाउने सहमति भएको नेता डा. मिनेन्द्र रिजालले जानकारी दिएका छन् ।

पुस ११ गते २०७७ साल फागुन ७ गतेदेखि १० गतेसम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका तय भएको थियो ।आजको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्रीद्धय डा.शशांक कोइराला, पूर्णबहादुर खड्का, पूर्बमहामन्त्रीद्धय सिंह र सिटौला, नेता डा मिनेन्द्र रिजाललगायतको उपस्थित थियो ।


  •  
  •  
  •