कांग्रेसका मधेसी सांसदको गुनासो, हाम्रो घर जलेको छ, कसरी तराई झर्ने ?

103
  •  
  •  
  •  

काठमाडौं ६ मंसिर ।
आफ्नै नेतृत्वमा अघि बढेको ‘संविधान संशोधन विधेयक’ अघि बढाउन वर्तमान सरकारले पहल नगरेको भन्दै कांग्रेसका मधेसी सांसदहरूले पार्टीले पनि प्रभावकारी दबाब दिन नसकेर खुट्टा कमाएको आरोप लगाएका छन् । मधेसमा देखिएको समस्या समाधानका लागि थालेको छलफलमा मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसदहरूले पार्टी नेतृत्वले दबाब दिन खुट्टा कमाएको आरोप लगाएका हुन् । संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार भएको छलफलमा कांग्रेसका २६ सांसदले आ–आफ्ना धारणा राखेका थिए । कार्यबाहक सभापति रामचन्द्र पौडेलले राजनीतिक प्रयासको जानकारी गराउँदै भने, ‘भोलिदेखि संसद् छ ।

हामीले मधेसमा देखिएको समस्या समाधानका लागि व्यक्तिगत रूपमा पार्टीबाट औपचारिक पहल गरेका छौँ । सरकार गम्भीर देखिएको छैन । वातावरण बनाउन अग्रसरता देखाएका छौँ । अब सबै लागौँ, दबाब दिऔँ ।’ त्यसपछि तराई–मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूले पार्टीको भूमिका प्रभावकारी नभएको, तराईमा आफ्नै घर जल्दा जान सक्ने अवस्था नरहेको भन्दै खुट्टा नकमाईकन अग्रसरता लिन पार्टी नेतृत्वलाई सुझाब दिएका थिए । ‘संविधानमा हस्ताक्षर किन गर्‍यौ भनेर अहिले हामीलाई तराईमा जनताले सोधिरहेका छन्, संविधान संशोधनको प्रस्ताव अघि बढ्छ भनेर साइन गर्‍यौँ, तर तत्काल संशोधन प्रस्ताव छलफल भई पास गर्ने अवस्था नभएकाले तराईमा जान गाह्रो भो भन्ने सांसदहरूको गुनासो छ,’ छलफलमा सहभागी कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भने, ‘अन्यथा मधेसमा जान गाह्रो छ ।

हाम्रो घर जलिरहेको छ, कसरी तराई झर्ने ?’ उनीहरूले केपी शर्मा ओली नेतृत्वको सरकारले तत्काल संशोधन अघि बढाउन इच्छा नदेखाएको भन्दै दबाब दिने विषयमा निर्णय गर्न पार्टीलाई सुझाएका थिए । उनीहरूको सुझाबपछि आइतबार संसद् बस्नुअघि बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बिहान ९ बजेलाई बोलाइएको छ । संसद्मा सरकारमाथि व्यापक दबाब दिनुपर्छ भन्दै संशोधन प्रस्ताव तुरुन्त छलफलमा ल्याउन संसदीय परम्पराभित्र रहेर ‘सामान्य होइन दबाबमूलक ढंगले दबाब दिने’ निष्कर्ष उनीहरूले निकालेका थिए ।

बैठकमा सहभागी एक सांसदका अनुसार बिहानको संसदीय दलको बैठकबाट संसद् बैठक अवरुद्ध गर्नेसम्मको निर्णय हुन सक्नेछ । ‘तराई–मधेसको आन्दोलन र समस्याले धेरै नै समस्या पारिसक्यो, अब पनि यसअघि नै संसद्मा पुगेको विधेयकमा छलफल हुने र अगाडि नबढ्ने हो भने संसद् अवरुद्ध गरेर दबाब दिनेसम्मको रणनीतिमा जानुपर्छ भन्ने छ,’ ती सांसदले भने । पार्टी जिम्मेवार भएर संशोधन प्रक्रिया अघि नबढाउने र सीमांकनमा तयार नहुने हो भने पार्टी छाडेर आन्दोलन गर्न तराई जाने चेतावनीसमेत दिइएको अर्का एक सांसदले बताए । ‘चार महिनादेखि तराईमा जान सकेका छैनौँ ।

पार्टीले हाम्रो मुद्दा सम्बोधनका लागि अगुवाइ गर्न सकेन र इमानदार भएर प्रयत्न गरेन भने हामी १०–१५ सांसद कति हुन्छौँ, पार्टीले कारबाही गरे पनि तराईमा आन्दोलन गर्न जान्छौँ,’ ती सांसदले नयाँ पत्रिकासँग भने । संशोधनमार्फत जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने, समावेशी समानुपातिकको विषय ग्यारेन्टी भए अरू सीमांकनसहितका विषयमा वातावरण बन्दै जानेमा अधिकांश सांसदले जोड दिएका थिए ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •