आजबाट कांग्रेसको जागरण अभियान

435
  •  
  •  
  •  

काठमाडौँ, २५ वैशाख (ओएनएस) : सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि भन्दै नेपाली कांग्रेसले बुधबारबाट जागरण अभियान सुरु गर्न लागेको छ।

हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाराका साथ शुरु हुन लागेको अभियान मुलुकसँगै विदेशका ३३ देशमा सञ्चालन हुने जनाइएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेका गलत काम–कारबाहीलाई जनतामाफ लैजान र पार्टी संगठनलाई थप सुदृढीकरण हुने जनाए।

अभियान वैशाख २५ देखि जेठ २५ गतेसम्म प्रथम चरण, भदौ २४ (बिपी जयन्ती) देखि असोज १० गतेसम्म दोस्रो चरण र पुस ७ देखि पुस १६ गतेसम्म (राष्ट्रिय एकता तथा मेलमिलाप दिवस) तेस्रो चरणमा सञ्चालन हुनेछ।

अभियानअन्तर्गत भिन्न भातृ संस्था भिन्न मुद्दाका कार्यक्रम, ७७ जिल्लामा एकसाथ उद्घाटन, आशन ग्रहणमा परम्परागत शैलीको अन्त्य, स्वागत र विसर्जनबाहेक केबल तीन वक्ता रहने उनले बताए । अभियानका लागि मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली गरी १२ भाषामा पार्टीको जागरण गीतको व्यवस्था गरेका गरिएको कांग्रेसले जनाएको छ।

पहिलो चरणको जागरण अभियान जिल्ला केन्द्रित हुने छ भने दोस्रो चरणमा प्रदेशको ३ सय ३० निर्वाचन क्षेत्र केन्द्रित हुनेछ । तेस्रो चरणको जागरण अभियान भने ७ सय ५३ गाउँ नगर केन्द्रित हुने काग्रेसले जनाएको छ ।


  •  
  •  
  •