कांग्रेसका मधेसी नेताको सुझाब : सहमतिविना २ नम्बर प्रदेशमा चुनाव गाह्रो

51
  •  
  •  
  •  

काठमाडौँ, ४ बैशाख ।

मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिहरूले मधेसी दलसँग सहमति गरेर मात्र स्थानीय तहको निर्वाचनमा जान नेतृत्वलाई सुझाब दिएका छन् । पार्टी पदाधिकारीसँगको छलफलमा उनीहरूले संविधान संशोधन नगरी मधेसमा निर्वाचन हुन नसक्ने पनि बताएका छन् ।

उनीहरूले नेतृत्वलाई सहमतिका लागि पहल गर्न पनि आग्रह गरेका छन् । ‘मधेसकेन्द्रित दललाई साथमा लिएर समस्याको समाधान खोजेपछि मात्रै निर्वाचन गर्नुपर्छ भन्ने साथीहरूको सुझाब छ,’ केन्द्रीय सदस्य एवं सांसद आनन्दप्रसाद ढुंगानाले नयाँ पत्रिकासित भने, ‘निर्वाचन गराउँदै गर्दा मधेसी दललाई साथमा लिएर जानुपर्छ । माओवादी र राजाको बन्दुकबीच सन्तुलनकारी भूमिका खेलेको कांग्रेसले सबैलाई मिलाएर निर्वाचन गराउन लाग्नुपर्छ भन्ने सुझाब आएका छन् ।’

नेतृत्वसँगको छलफलमा केही नेताहरूले मधेसी दलसँग सहमति भएमा एकै चरणमा निर्वाचन गर्न सकिने बताएका थिए । तर, केही नेताले मधेसी दलका जायज माग सम्बोधन गरेर दुई चरणमा भए पनि निर्वाचन गर्नुपर्ने सुझाब दिएका थिए ।

मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेताहरूले तराई–मधेसको समस्या मधेसी मोर्चाको मात्र नभएको भन्दै जिम्मेवार बन्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । ‘तराई–मधेसको समस्या मधेसी मोर्चाको मात्र समस्या होइन, मधेसको समस्या हो,’ सर्लाहीबाट प्रतिनिधित्व गर्ने सांसद नागेन्द्र रायले नयाँ पत्रिकासित भने, ‘समस्या समाधान गरेर मात्र निर्वाचनमा जाऔँ, यसका लागि बरु दुई चरणमा भए पनि निर्वाचन गर्दा हुन्छ भन्ने सुझाब दिएका छौँ ।’

पार्टीको केन्द्रीय कार्यालय सानेपामा शनिबार दिनभर छलफल चलेको थियो । बैठकमा कांग्रेसमा तराई–मधेसबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद तथा आठ जिल्लाका सभापतिमध्ये करिब २५ जनाले धारणा राखेका थिए ।

देउवाले सहमतिको पहल गर्ने
मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूले प्रदेश नम्बर २ मा निर्वाचन गर्न कठिन हुने जानकारी गराएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले दलीय छलफलका लागि प्रयास थाल्ने बताएका छन् । ‘वार्ताका लागि मधेसी दललाई आह्वान गर्छु । संशोधन प्रस्ताव दर्ता भएको छ,’ बैठकमा देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य रामकृष्ण यादवले नयाँ पत्रिकासित भने, ‘यसबारे प्रधानमन्त्रीसँग सल्लाह गरेर मोर्चालाई कसरी सहमतिमा ल्याउन सकिन्छ पहल गर्छु ।’

बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा तराई–मधेसका आवाज सम्बोधन गर्न संविधान संशोधनलाई प्राथमिकता दिएर स्थानीय तहको निर्वाचन सुनिश्चित गर्न माग भएको जनाएको छ । निर्वाचन गर्न राजनीतिक वातावरण बनाउन मधेसी मोर्चालगायत संसद्भित्रका अन्य दलहरूसँग वार्ता प्रक्रियालाई अगाडि बढाउन पनि उनीहरूले आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ प्रस्तावमा सहमति हुने आशा
प्रदेश नम्बर २ का कांग्रेस नेताहरूले संविधान संशोधनको नयाँ विधेयक दर्ता हुँदा सहमति हुने धेरै सम्भावना रहेको बताएका थिए । ‘अहिलेको प्रस्तावमा धेरै मतभिन्नता छैन । एमालेले पनि सीमांकनको प्रस्ताव हटाउँदा र वार्ता गर्दा समस्या समाधान हुन्छ भन्दै आएको छ,’ केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले भने, ‘अब कसैले पनि यो मान्दैनौँ, त्यो मान्दैनौँ भन्न मिल्दैन । कहाँ मध्यबिन्दु बनाउन सकिन्छ त्यो पहिल्याएर निर्वाचनमा जानुपर्छ ।’
नयाँ पत्रिकाबाट


  •  
  •  
  •