कांग्रेस केन्द्रीय समिति बैठक सुरु

127
  •  
  •  
  •  

काठमाडौं ३० भदौ (ओएनएस) : नेपाली काग्रेसको केन्द्रीय कार्य समितिको बैठक आठ महिनामा पहिलो पटक बस्ने भएको छ । संविधानसभाको निर्वाचन पछि एक पटक बसेको कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक पार्टी मुख्यालय सानेपामा सुरु भएको छ ।

पार्टी सभापति प्रधानमन्त्री भएपछि केन्द्रीय समितिको बैठक पहिलो पटक बसेको हो । बैठकमा सरकार, आगामी महाधिवेशन र प्रधानमन्त्रीको आगामी अमेरिका भ्रमणबारे छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए । कांग्रेस नेताहरुले आजको बैठकमा सरकारमा सहभागी मन्त्रीहरुको कामकारबाहीबारे समिक्षा हुने जनाएका छन् । केन्द्रीय समितिको बैठक नबोलाएको भन्दै केही केन्द्रीय सदस्यहरु सभापति तथा प्रधानमन्त्री कोइरालाप्रति असन्तुस्ट रहेको बेला पार्टीको बैठक बसेको हो ।

संविधानसभाको निर्वाचनपछि पार्टी सभापतिको नेतृत्वमा एमालेसँग मिलेर सरकार गठन गर्ने निर्णय गरेयता केन्द्रीय समितिको बैठक बसेको थिएन ।

मध्यरातमा ६ केन्द्रीय सदस्य मनोनित

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आइतबार मध्यरातमा ६ केन्द्रीय सदस्य मनोनित गरेका छन् । कार्यकाल एक वर्ष थप्न सोमबार बिहान ११ बजे केन्द्रीय समिति बैठक बस्ने तय भइसकेका बेला, त्यसपछि मनोनित गर्न नैतिकरूपमा नमिल्ने भएकाले आइतबार राति ११ बजेपछि कोइरालाले ६ केन्द्रीय सदस्य र ६ आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेका हुन् । मनोनित हुनेमा नेविसंघका पूर्व अध्यक्षत्रय गोविन्द भट्टराई, गुरु घिमिरे र प्रदीप पौडेल छन् ।

यसैगरी श्याम घिमिरे, जुम्लाका दिनबन्धु श्रेष्ठ र राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका प्रताप लोहार केन्द्रीय सदस्य भएका छन् ।आमन्त्रित केन्द्रीय सदस्यमा यज्ञराज जोशी, दिलकुमारी राई, भोला चौधरी, महेन्द्र शर्मा, कल्याण गुरुङ र नेविसंघका पूर्व अध्यक्ष केशव सिंह छन् । यसअघि सभापति कोइरालाले चारपटक गरी १७ केन्द्रीय सदस्य मनोनित गरेका थिए । विधानतः सभापतिले केन्द्रीय सदस्यमा २१ जना मनोनित गर्न पाउँछन् । तर केन्द्रीय सदस्य भीमबहादुर तामाङ र गोपाल पहाडीको निधन भएपछि रिक्त ठाउँमा समेत केन्द्रीय सदस्य मनोनित भएका हुन् । कार्यकाल थप्ने निर्णय हुनु एक दिनअगाडि कांग्रेस केन्द्रीय समितिले पूर्णता पाएको छ ।


  •  
  •  
  •