कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

107
  •  
  •  
  •  

काठमाडौं । प्रतिपक्षी दल नेपाली नेपाली कांग्रेसको अवरोधपछि सोमबार पनि प्रतिनिधि सभा बैठक प्रभावित भएको छ ।
सोमबारको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षलाई मुद्दा चलाउन नपाइने भन्दै विरोध गरेका थिए ।

त्यसपछि प्रतिवादमा कांग्रेस सांसदहरु विरोधमा उत्रिएका थिए । बाँके घटनालाई लिएर खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्लविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसँगै कांग्रेस संसद सञ्चालन गर्न सहमत भएको थियो ।

कांग्रेसले दोषीलाई कारबाहीको प्रतिबद्धता सरकारबाट मागिरहेका बेला सहमतिविपरीत सत्तापक्षकै सांसदले घटनाको बारेमा भिन्न दाबी प्रस्तुत गर्दे आफूहरुले पनि आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि सहमति भाँडिएको छ ।

बैठकमा सत्तारुढ दल नेकपाका सांसद नन्दलाल रोका क्षेत्रीले बाँके घटनालाई लिएर खजुरा गाउँपालिका वडान नं १ का अध्यक्षलाई मुद्दा लगाउन नपाउने भन्दै विरोध जनाएका थिए । त्यसलगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाए ।
कांग्रेस सांसदहरु उभिइरहेकै समयमा सांसद रोकाले बाँके घटनामा नेपाली कांग्रेसकै कार्यकर्ता जिम्मेवार भएको बताएका थिए ।

सांसद रोकाको अभिव्यक्तिपछि नेपाली कांग्रेसका सांसदहरुले बोल्न समय मागेका थिए ।  तर सभामुखले समय नदिएपछि उनीहरुले वेल घेराउ गरी नाराबाजी गरेका हुन् ।

कांग्रेस सांसदहरुले ‘संसदमा निष्पक्षता कायम गर, दोषीलाई कारबाही गर । राज्य आतंक बन्द गर’ भन्दै झण्डै आधाघण्टा नाराबाजी गरेका थिए ।

नाराबाजी जारी रहेपछि सभामुख कृष्णबहादुर महराले आउँदो असोज १ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।

यसअघि आइतबारको बैठक पनि कांग्रेसले अवरुद्ध गरेको थियो । संसदमा बाँके घटनाबारे गृहमन्त्रीले दिएको अभिव्यक्ति चित्तबुझ्दो नभएको भन्दै कांग्रेसले संसद अवरुद्ध गरेको थियो ।


  •  
  •  
  •