‘लोकतन्त्रका लागि कांग्रेस मेला’ आयोजना गरिने

758
  •  
  •  
  •  

काठमाडौं, २२ वैशाख(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले केन्द्रदेखि वडास्तरसम्म ‘लोकतन्त्रका लागि कांग्रेस मेला’ आयोजना गर्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार सम्पन्न प्रतिष्ठानको बैठकले संघ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरमा ‘लोकतन्त्रका लागि कांग्रेस मेला’ आयोजना गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानले संघीय संसद अन्तगतका दुबै सदनमा प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सांसदहरुका लागि संवाद र प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, सातवटै प्रदेशमा महाधिवेशन प्रतिनिधिहरुका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।

सातवटै प्रदेशका पार्टीका प्रदेशसभा सदस्यहरुका लागि प्रदेशस्तरीय संवाद र प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानले कांग्रेसबाट विजयी भएका गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाडौंमा गर्ने भएको छ ।

नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन, पार्टीको आन्दोलनका क्रममा ज्यान गुमाएका सहितहरुको जीवनी, नेतृत्वको योगदान, नेपालको परिचय, इतिहास, संस्कृति, सम्पदा आदिका विषयमा जानकारी दिन र कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउन १३ देखि १८ वर्षका विद्यार्थीका लागि र १९ देखि २८ वर्षसम्मका उमेर समूहका लागि विशेष कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधानमा व्यवस्था भए बमोजिम कांग्रेसको क्रियाशिल सदस्यता नवीकरण गर्नुपूर्व प्रशिक्षण लिएको हुनै पर्ने भएकाले सबै क्रियाशिल सदस्यहरुका लागि विभिन्न तह र चरणमा प्रशिक्षण कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गरिनेछ ।’

बैठकका निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा संगठन सुदृढिकरणका लागि विभन्न कार्यक्रम आयोजना गरिने भनिए पनि तिथि भने उल्लेख छैन् ।


  •  
  •  
  •