कांग्रेस जागरण अभियानको अनुगमनको जिम्मा डिएलएलाई

343
  •  
  •  
  •  

काठमाडौं, १५ वैशाख(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले राष्ट्रिय जागरण अभियानलाई मर्यादित र अनुशासित बनाउन नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघ (डिएलए)लाई अनुगमनको जिम्मेवारी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो बसेको अनुशासन समितिको बैठकले डिएलएललाई ७७ वटै जिल्लामा स्थलगत अनुगमन तथा निरीक्षणमा खटाउने निर्णय गरेको हो ।

पार्टीका सचिव प्रेम केसीले एक विज्ञप्ति मार्फत जागरण अभियानको क्रममा पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हितविपरित काम कारबाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी दिन आग्रह गरिएको छ ।

कांग्रेसको पहिलो चरणको राष्ट्रिय जागरण अभियान यहि वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्मका लागि तय गरिएको छ । जिल्ला केन्द्रित यो अभियानपछि कांग्रेसले भाद्र २४ गतेबाट वीपी जयन्तीका अवसर पारेर ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा कार्यक्रम गर्नेछन् ।

तेस्रो चरणमा ७ सय ५३ पालिकामा मेलमिलाप दिवस पारेर पुस १६ गतेबाट अभियान सुरु हुनेछ ।
कांग्रेसले जागरण अभियानमा पार्टीका संगठन सुधार, सदृढीकरणका अतिरिक्त पार्टीको सदस्यता व्यापक वितरण, भ्रष्टाचार, मूल्यवृद्धि, हत्या हिंसा र बलात्कारका घटनालाई समेत उठाउने जनाइएकोा छ ।


  •  
  •  
  •