कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

288
  •  
  •  
  •  

काठमाडौं, २३ चैत(ओएनएस) : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले बस्दै छ ।

 

केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक तोक्नेलगायत विषयमा छलफल गर्न पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
बैठकमा हुने छलफलका एजेण्डाबारे सहमति जुटाउन शुक्रबार अपरान्ह सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल भएको थियो ।
उक्त छलफलमा सभापति देउवाले पार्टीको कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक तोक्ने विषयसहित पार्टीको देशव्यापी जनजागरण अभियान सञ्चालनबारे पनि नेताहरुसँग राय सुझाव मागेका थिए ।

पार्टीको नयाँ विधानले पदाधिकारीमा थप गरिएको संख्या समेतको कार्यसम्पादन समिति गठनको व्यवस्था गरेको भएपनि तत्कालको परिस्थितिमा निर्वाचित सात सहमहामन्त्री नभएको भन्दै सभापति देउवाले पुरानै विधानको आधारमा पदाधिकारीसहित २९ सदस्यीय समिति गठन गर्न सहमति जुटाएको बुझिएको छ ।
यसरी कार्यसम्पादन समिति गठन गर्दा सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक÷एक सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल बाहेक बाँकी पदमा केन्द्रीय सदस्यमध्येबाट चयन हुने छन् ।
छलफलमा सहभागी एक नेताका अनुसार सभापति देउवा ६०–४० को अनुपातमा भए पनि कार्यसम्पादन समिति मिलाएर गठन गर्न तयार देखिएका छन् । त्यसका लागि देउवाले वरिष्ठ नेता पौडेललाई आफ्नो कोटाबाट पदाधिकारी बाहेक ७ देखि ८ जनाको नाम दिन भनेका छन् ।

यस्तै पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग रहेका छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग गठन हुन सकेको छैन ।


  •  
  •  
  •