केन्द्रीय समितिबाट पारित विधानलाई पुनर्विचार गर्न आग्रह

316
  •  
  •  
  •  

काठमाडौं, २१ चैत(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्षका जिल्ला सभापतिहरुको भेलाले केन्द्रीय समितिबाट पारित विधानलाई पुनर्विचार गर्न माग गरेको छ ।

बुधबारदेखि बसेको बैठकपछि ७ बुँदे निर्णय सार्वजनिक गर्दै महासमितिको ’म्यान्डेट’अनुरुपको विधान प्रकाशित गर्न आग्रह गरेको हो ।

फागुन १२ को केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि चयन हुने विधान पारित गरेको थियो । साथै, आरक्षणको व्यवस्थालाई दुरुपयोग गरिएको भन्दै एक व्यक्तिले एक पटक मात्रै आरक्षण उपयोग गर्न पाउने व्यवस्था कायम राख्न जिल्ला सभापतिहरुले माग गरेका छन् ।

बैठकले बारा र पर्सा जिल्लामा आएको विनासकारी हुरीबाट प्रभावितहरुको लागि राहत हस्तान्तरण गर्ने निर्णय गरेको काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी गराएका छन् ।

७७ जिल्लाबाट संकलित राहत बारा र पर्साका जिल्ला सभापतिहरुसँग समन्वय गरी वितरण गरिने बताइएको छ ।
पारित विधानमा असहमति राखेका ५६ जना जिल्ला सभापतिहरुको एकतालाई अझ मजबुत बनाउनेमा एकमत देखिएका छन् ।

बुधबार र बिहीबार बसेको बैठकमा ४४ जना जिल्ला सभापति सहभागी भएको बताइएको छ ।
अन्य ११ जना जिल्ला सभापतिहरुसँग फोनमार्फत निर्णयमा सहमति लिइएको बानियाँको भनाइ छ ।


  •  
  •  
  •