अनुशासन र निर्वाचन समितिबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

304
  •  
  •  
  •  

काठमाडौं, ३ चैत(ओएनएस) : नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक असन्तुष्टि साम्य बनाउन सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्ब पदाधिकारी तथा शीर्ष नेताहरुको अनौपचारिक बैठक बोलाएका छन् ।

केन्द्रीय कार्य समितिको बैठक बस्नु अघिल्लो दिन आइतबार दिउँसोका लागि देउवा निबास बुढानीलकण्ठमा बोलाइएको हो ।

बैठकमा पार्टीको अनुशासन समिति, निर्बाचन समिति, नेविसंघको नेतृत्व चयन तथा विभाग गठन लगायतका बिषयमा छलफल हुने बताइएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले अनुशासन र निर्वाचन समिति बहुमतबाट गठन गर्न खोजिए केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि बैठक बस्नु एक दिनअघि सभापति देउवाले अनौपचारिक बैठक डाकेका हुन् । सभापति देउवाले समिति गठन गर्ने प्रयोजनका लागि चैत ४ गते केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् ।

बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय पूर्णबहादुर खड्का र शशांक कोइराला, कोषाध्यक्ष सीतादेबी यादब, पूर्ब उपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौला, अर्जुन नरसिं केसी, बालकृष्ण खाँण, डा. रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा. शेखर कोइराला लगायतका नेताहरु सहभागी हुँदैछन् ।

संस्थापन पक्षले सहमतिको प्रयास नगरेको पौडेल पक्षको गुनासो छ । तर पनि संस्थापन पक्षले भने समिति गठन अघि निरन्तर सहमतिको प्रयास गरिरहेको दाबी गरेको छ । यसैक्रममा सहमतिको प्रयासका लागि उपसभापति विमलेन्द्र निधि शनिबार राति बरिष्ठ नेता पौडेल निबास बोहोराटार पुगेका थिए । उपसभापति निधि र नेता पौडेलबीच राति अबेरसम्म कुराकानी भएको थियो ।

भेटमा उपसभापति निधिले सबैलाई समेटेर अघि बढेपछि मात्रै तल्लो तहका कार्यकर्तामा सकारात्मक सन्देश जाने भएकाले आफूहरु सधैं सहमतिको पक्षमा रहेको पौडेलसंग बताएका थिए ।

सहमतिकै लागि त्यसअघि पनि महामन्त्री पूर्णबहादुर खड्का पटक–पटक पौडेल निबास गएर कुराकानी गरेका थिए ।

एक नेताका अनुसार पाँच सदस्यीय अनुशासन समितिमा संस्थापन पक्षले अध्यक्षसहित तीनजना र देउवा–सिटौला पक्षले दुई जना पाउने सहमति यसअघि नै भएको थियो । सोही सहमति अनुसार सभापति देउवाले पौडेल–सिटौलासँग दुई जनाको नाम मागेका छन् ।


  •  
  •  
  •