धनुषा बम विष्फोट घटनाको उच्चस्तरीय छानबिन गर्न माग

336
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटको घटनाको उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ ।

आइतबार वरिष्ठ नेता पौडेल समूहको बहिष्कारकाबीच बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तीनजनाको मृत्यु हुने गरी भएको बम विष्फोटको उच्चस्तरीय छानबिनको माग गरेको हो ।

कांग्रेसले विष्फोटमा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च र मृत परिवारलाई राहतको व्यवस्था गर्न पनि माग गरेको छ ।

“नेपाली कांग्रेस बम विष्फोट गराउने दोषी जो भए पनि कानुनी दायरामा ल्याउने कर्तव्य निर्वाह गर्न नसक्नु र शान्ति सुरक्षा कायम गर्न निरन्तर सरकार असफल हुँदै गएको तथ्यप्रति चिन्ता प्रकट गर्दे सरकारलाई यस्ता घटनाप्रति गम्भीर हुन अपिल गर्दछ,” बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “घटनाको उच्चस्तरीय छानविनका लागि माग गर्दे नेपाली कांग्रेस बम विष्फोटमा परेर घाइते भएकाहरुको सम्पूर्ण उपचार गर्न तथा मृतकका परिवारलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।”

गत मंसिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा बम विष्फोटमा परी प्रहरी निरिक्षक अमिर दाहाल र अन्य दुई जना नागरिकको मृत्यु भएको थियो ।

धनुषामा भएको बम विष्फोटमा तीन जनाको मृत्यु, ५ घाइते

कांग्रेसले दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु र १८ जना गम्भीर घाइते भएको घटनाप्रति पनि दुःख व्यक्त गरेको छ । कांग्रेसले दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

“नेपाली कांग्रेस सडक दुर्घटना नियन्त्रण गर्न सरकार असफल भएको ठहर गर्दै दुर्घटनाको मुकदर्शक नभएर दुर्घटना नियन्त्रणका लागि गम्भीर पहलकदमी गर्न सरकारलाई अपिल गर्दछ,” मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेस बैठकले कञ्चनपुरको महाकाली नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकाहरुको परिवारलाई राहत उपलब्ध गराउन र घाइतेको उपचार व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ । केही दिनअघि हात्तीको आक्रमणमा परी स्थानीय बसन्ती भट्ट र भूरी बोहराको मृत्यु भएको थियो । आक्रमणमा चार जना महिला घाइते भएका छन् ।

बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार तथा केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र रमेश लेखकले आआफ्नो धारणा राखेका थिए ।


  •  
  •  
  •