कंगोमा दादुराका कारण करिब पाँच हजारको मृत्यु

90
  •  
  •  
  •  

एजेन्सी । कंगोमा दादुराका कारणसन् २०१९ मा करिब पाँच हजार मानिसको ज्यान गएको छ ।
यो वर्ष मात्रै झन्डै अढाइ लाख मानिस दादुराबाट संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई संसारै सबैभन्दा ठूलो र चाँडो फैलिरहेको महामारीका रुपमा लिएको छ ।
बीबीसीले जनाएअनुसार कंगोमा इबोलाका कारण विगत १५ महिनामा ज्यान गुमाउनेभन्दा दुई गुणा बढी मानिसको ज्यान दादुराले लिएको छ ।

कंगो सरकार र डब्ल्यूएचओले गत सेप्टेम्बर महिनामा आठ लाख बालबालिकालाई खोप दिने उद्देश्यसहित आपत्कालीन कार्यक्रम सञ्चालन गरेका थिए ।

तर कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहुँचका अभावले दादुरा संक्रमण रोक्ने प्रयासमा असर परेको छ ।
अहिलेसम्म ४० लाख बालबालिकालाई खोप लगाइसकिएको छ । तर विज्ञहरूका अनुसार खोप लगाइनुपर्ने संख्याभन्दा आधाले पनि कम हो ।

त्यस्तै त्यहाँ पर्याप्त खोप उपलब्ध नभएको उनीहरूले बताएका छन् । प्रभावितमध्ये अधिकांश शिशुहरू छन् ।
दादुरा एउटा भाइरसका कारण लाग्छ । संक्रमण भएपछि सिँगान बग्न थाल्छ तथा हाच्छिउँ र ज्वरो आउँछ ।
त्यसको केही दिनपछि अनुहारमा दाग देखिन्छ र शरीरभरि फैलिन थाल्छ ।

तर यदि त्यसले निमोनिया वा इन्सेफलाइटिस अर्थात् मस्तिष्कको सुजन भएमा दादुराले जीवनभरि अपांगता निम्त्याउन सक्छ ।
दादुराका कारण विश्वभरि प्रत्येक वर्ष एक लाख १० हजार मानिसको ज्यान जाने गरेको अनुमान छ ।


  •  
  •  
  •