ओलीलाई बधाईको ओइरो

250
  •  
  •  
  •  

काठमाडौँ, ३२ असार (ओएनएस) एमालेको अध्यक्ष बनेको केपी ओलीलाई नेपाल र भारतका प्रधानमन्त्री तथा शीर्ष नेताहरूले बधाई दिएका छन् ।

ओली एमालेको नवौँ महाधिवेशनबाट अध्यक्षमा विजयी भएको खबर पाएपछि हाल उपचारका लागि अमेरिकामा रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले गएराति टेलिफोन गरी बधाई र शुभकाना दिएका हुन् ।

अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार प्रधानमन्त्री कोइरालाले आफू स्वदेश फर्केपछि संविधान निर्माण र सरकारका प्राथमिकताका काममा आपसमा मिलेर अघि बढ्ने बताउनुभएको छ भने जवाफमा ओलीले मुलुकका सामु उत्पन्न चुनौतीलाई सहकार्यका आधारमा जनतालाई राहत हुने गरी सम्बोधन गर्न फरक ढङ्गले क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् ।

यसैबीच ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता दलका अमित शाहले इमेलमार्फत बधाई र शुभकामना दिएका छन् ।

मंगलवार नै एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनाल, नेता माधवकुमार नेपालले टेलिफोन गरी ओलीलाई बधाई दिएका थिए ।

ओलीलाई बुधवार एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतले टेलिफोनमार्फत बधाई दिएका छन् ।

आचार्यका अनुसार ओली निवास बालकोटमा आज पनि कार्यकर्ता र शुभेच्छुकको बधाई दिने भिड लागेको छ ।


  •  
  •  
  •