कांग्रेसका केही नेता अझै पनि राजतन्त्र ब्यूताउँने सपना देखिरहेका छन् : प्रधानमन्त्री

437
  •  
  •  
  •  

काठमाडौं, ९ वैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को एकतामा देश नै खुशी हुनुपर्ने बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी स्थापनाको ७० औं वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले
नेपालमा पहिलो पटक कम्यूनिष्ट पार्टीको सुदृढ बहुमत सहितको सरकार बनेको दुईवटा ठुला वाम पार्टी एक भएको सन्दर्भमा देशले नै खुशी मनाउनुपर्ने बताए ।

‘हाम्रो एकतामा कम्यूनिष्ट पार्टीले मात्र होइन देशले नै खुशी मनाउनुपर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘किनभने यो स्थिरताको सुरुवात हो । देश अघि बढाउने कार्ययोजनाको एकता हो ।’

प्रधानमन्त्री ओलीले कुनै बेला कम्यूनिष्टहरुको अन्तर्राष्ट्रिय गीत ‘हामी जित्नेछौं एक दिन’ खुब गाउने गरेको प्रशंग निकाल्दै आज कम्यूनिष्टहरुले जितेको दिन भएको बताए ।

‘त्यतीबेला हामी जित्नेछौं । एकदिन भन्ने गीत गाउथ्यौं तर आज हामीले जितेका छौं’ प्रधानमन्त्री ओलीले भने, ‘लामो समयसम्म स्वार्थको राजनीति भएर कम्यूनिष्टहरुले जित्न सकेनन् । जब आफ्नो स्वार्थ गौंण र देशको स्वार्थलाई प्रधान मान्ने नेतृत्व आयो तब कम्यूनिष्टले जित्यो ।’

प्रधानमन्त्री ओलीले कांग्रेसका केही नेता अझै पनि राजतन्त्र ब्यूताउँने सपना देखिरहेको बताए ।
‘विगतमा कांग्रेसका कारण प्राप्त उपलब्धीहरु जोगाउन सकिएन । उसको बानी सहयात्रीहरुलाई अविस्वास गर्ने र बिरोधीहरुसँग मिल्ने छ । अहिले पनि त्यो बानी गएको छैन’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले सरकारले देश विकासका निम्ती राम्रा काम गरिरहेको स्पष्ट पारे ।

‘गान्धारीले आँखामा पट्टी बाधेकी थिइन् र केही देख्दिन थिइन’ प्रधानमन्त्री ओलीले भने, ‘अहिलेका केही केही मानिसले चेतनामा पट्टी बाँधेकोले सरकारको काम देखेका छैनन् ।’

अब केही दिनमा आउने सरकारको नीति तथा कार्यक्रममा गतवर्ष जनताले अत्याधिक माग गरेका तर समेट्न नसकिएका मागहरु सम्बोधन गरिने प्रधानमन्त्री ओलीले बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले पत्रकार शुभशंकर कंडेलले लेखेको पुस्तक अवतरणको अंग्रजी संस्करण ‘दि सेफ ल्याण्डिङ’ र ‘एमाले माओवादी एकताका आधार’को विमोचन गरेका थिए ।


  •  
  •  
  •