भागबण्डामा केन्द्राध्यक्ष

325
  •  
  •  
  •  

विराटनगर, १७ चैत(ओएनएस) : एसएलसी परीक्षा सुरु हुनु दुई दिनमात्र अघि मोरङमा केन्द्राध्यक्षको विवाद टुङग्याइएको छ । ६७ वटा परिक्षा केन्द्र रहेको मोरङमा पेशागत संगठनले केन्द्राध्यक्ष पदमा आफ्ना मान्छेलाई पार्न चलखेल गरेपछि केन्द्राध्यक्षको टुङगो लाग्न सकेको थिएन ।

गत १३ गते देखि केन्द्राध्यक्ष तोक्ने बिषयमा पटक पटक छलफल गरिएपनि निर्णय हुन सकेको थिएन । परीक्षा सुरु हुन दुई अघि चौतर्फी दवावका बावजुत शिक्षक संघ संगठनहरुले केन्द्राध्यक्ष भागवण्डा गरेका हुन् ।

राजनीतिक दल निकट शिक्षक संघ संगठनहरुबीचको विवादले गर्दा केन्द्राध्यक्ष तोक्ने विषयमा कुरा मिल्न सकेको थिएन । परीक्षा सुरू हुनु दुई दिन अघि मंगलबार बेलुका केन्द्राध्यक्षको टुङगो लगाइएको हो ।

६७ वटा परीक्षा केन्द्र रहेको मोरङमा एमाले नेपाल राष्ट्रिय शिक्षक संगठनले २२ वटा केन्द्राध्यक्ष पाएको छ । स्रोतका अनुसार कांग्रेस निकट नेपाल शिक्षक संघले १८ वटा केन्द्राध्यक्ष पाएको छ । त्यस्तै, एमाओवादी निकट शिक्षक संघले १२ वटा पाएका छन् । वैद्य निकटले १, निजी विद्यालयले ७, तमलोपा निकट शिक्षक फेडेरेसनले १ वटा केन्द्राध्यक्ष पाएका छन् ।

संघीय समाजवादी फोरम निकटले १, फोरम लोकतान्त्रिक निकटले २, सदभावना निकटले १ वटा परीक्षा केन्द्र पाएका छन् । सहायक जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले लामो छलफलपछि केन्द्राध्यक्षको टुङगो लागेको जानकारी दिए । टुङगो लागेपछि बुधबार सबैलाई आफ्नो क्षेत्र पठाइएको बताइएको छ ।

शिक्षाका नियमनकारी निकाय र शिक्षाका पेसागत सस्थाहरुको आफ्नो स्वार्थमा रुमल्लिदा केन्द्राध्यक्ष तोक्न लुछाचुडी गर्ने गरेको एजुकेशन हेल्पलाइनका अध्यक्ष राजेन्द्र ढकालले बताए ।

गत वर्षपनि भागबण्डाका कै आधारमा केन्द्राध्यक्ष टुङगो लगाइएको थियो । गतबर्ष ६४ वटा परिक्षा केन्द्र तोकिएको मोरङमा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनले २२ वटा केन्द्राध्यक्ष पाएको थियो । त्यस्तै, कांग्रेस निकट नेपाल शिक्षक संघले १६ वटामा केन्द्राध्यक्ष पाएको छ । एमाओवादी शिक्षक संघले ९, मोहन बैद्य नेतृत्वको माओवादी निकटले २ वटा केन्द्राध्यक्षको जिम्मा पाएका थिए । मधेसी दलहरुले संयुक्त ८ वटा केन्द्र पाएका थिए भने निजी विद्यालयहरुको संगठन प्याप्सन र एनप्याप्सनले ७ वटा केन्द्राध्यक्ष पाएका थिए । मान-सम्मान र आर्थिक लाभ हुने भएकाले केन्द्राध्यक्ष तोक्ने विषयमा विवाद हुने गरेको छ ।


  •  
  •  
  •