सत्तारुढ र विपक्षी दलहरु बीचको दुरी बढ्दै, सहमतिको सम्भावना कम

211
  •  
  •  
  •  

काठमाडौं, १७ चैत (ओएनएस) : नयाँ बन्ने संविधानका विवादित विषयमा सहमतिका लागि जुट्नु पर्ने दलहरु छलफलबाट टाढिदै गएका छन् । एक अर्काबीच विश्वासको वातावरण बनाउन नसकेपछि दलहरुका बीचमा सहमतिको सम्भावना न्यून बन्दै गएको छ ।

नेपाली काङ्ग्रेस, नेकपा एमाले लगायतका सत्ताधारी दल एमाओवादी नेतृत्वको विपक्षी मोर्चा सहमतिको नाममा समय कटाउने दाउमा रहेको शङ्कामा छन् भने विपक्षी मोर्चाले सत्ताधारी दल वार्ताका नाउमा प्रक्रिया सुरु गर्ने रणनीतिमा रहेको निष्कर्ष निकालेको छ । पछिल्ला घटनाक्रमले दलहरु सहमतिको वातावरण निर्माणभन्दा पनि एक अर्कालाई गलाउने रणनीतिमा लागेको देखिन्छ ।

सहमतिको वातावरण बनाउनका लागि प्रधानमन्त्रीका तर्फबाट पहल भैरहेको प्रेस सल्लाहकार प्रकाश अधिकारीले बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यू सहमतिबाटै संविधान जारी हुनुपर्छ भन्ने मनस्थितिमैं हुनुहुन्छ । विपक्षी मोर्चाले आन्दोलन गरिरहेका कारण भरे भोलि नैं वार्ता हुने सम्भावना कम छ ।’

दुवै पक्षले दोस्रो तहका नेताहरुमार्फत अनौपचारिक छलफल भने जारी रहने जनाएका छन् । दोस्रो तहका नेताहरुलाई सहमतिका लागि सबै अधिकार नभएकोले उक्त छलफलहरु अनौपचारिकता मैं सीमित हुने विश्लेषकहरु बताउँछन् ।

विपक्षी मोर्चाले पनि बहुमतीय प्रक्रिया रोक्ने प्रतिबद्धता नआएसम्म सत्ताधारी दलसँग वार्ता नगर्ने निष्कर्ष निकालेको छ । दलहरुबीचको सहमतिको प्रयास बिफल हुँदै गएपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले संविधानसभाको बैठक यही चैत २३ गतेका लागि बोलाइ सकेका छन् ।

सभाध्यक्ष नेम्बाङले दलहरुलाई सहमति गर्न दवाव पुगोस् भनेरै बैठक बोलाएको बताउँदै आउनु भएको छ । विपक्षी मोर्चाले भने वार्ता जारी रहेका बेला संविधानसभाको बैठक बोलाइएको र सत्ताधारी दलले बहुमतीय प्रक्रियामा जाने षड्यन्त्र सुरु भएकोभन्दै सहमतिका लागि दवाव दिन आन्दोलन सशक्त बनाउने निर्णय गरेको छ ।

काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले विपक्षी मोर्चाले सहमति गर्न नचाहेका कारण उनीहरुले आन्दोलन नरोक्ने अडान लिएको बताएका छन् । विपक्षी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरु सहमतिको पक्षमा भएका कारण सत्ताधारी दललाई दवाव दिन आन्दोलन गर्न बाध्य भएको दावी गरेका छन् ।


  •  
  •  
  •