फेरी भिड्ने तयारी !

226
  •  
  •  
  •  

kp-sharma-oli-Madhav-Nepalकाठमाडौं, १७ कात्तिक (ओएनएस) : सोमबार बिहानैदेखि संविधानका विवादित विषय मिलाउने ध्याउन्नमा थिए, दलहरू । कांग्रेस-एमाले सहमतिको साझा खाका बनाइरहेका थिए । एमाओवादी मधेसवादी दलसँग परामर्शमा थियो । बाबुराम भट्टराई संविधानसभाको निर्देशन विपरीत संवाद समितिमा सहमतिको प्रयासमै थिए । नेताहरुलाई संसदको चटारो पनि उत्तिकै थियो । तर, एमाले नेताहरु त्यत्तिमै सीमित थिएनन् ।

मंगलबारको केन्द्रीय कमिटी बैठकमा भिड्ने तयारीस्वरुप अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल छुट्टाछुट्टै रणनीति बनाउन व्यस्त थिए ।

नेता नेपालले पेस गरेको सात बुँदे आरोपपत्रले एमालेमा नयाँ तरङ्ग पैदा गरेको छ । अध्यक्ष ओली नेपाल पक्षलाई पेलेरै जाने रणनीतिमा लागेका छन् । नेपाल पक्ष पनि ओलीलाई कुनै पनि एजेण्डा पारित गर्न नदिने तयारीमा छ ।

नेपाल पक्षले आफूले उठाएका विषय सम्बोधन नगरी केन्द्रीय कमिटी बैठकमा अन्य एजेन्डामा छलफल हुन नदिने रणनीति बनाएको छ । नेपाल पक्षका एक नेता भन्छन् ‘मंगलबार बस्ने बैठकमा अध्यक्ष ओलीले पोलिटब्यूरो गठन, पार्टीका विभाग गठन लगायतका एजेण्डा अघि बढाउन खोजे अवरोध हुनेछ ।’ नेपालले राखेका विषयमा सम्बोधन नगरेसम्म पोलिटब्यूरो चयन, कार्यविभाजन र कार्ययोजना लगायतका कुनै पनि कुरा अघि बढ्न नदिने गरी नेपाल पक्षका केन्द्रीय सदस्य तयारी अवस्थामा छन् ।

नेपाल पक्षीय केन्द्रीय सदस्य ठाकुर गैरेले नेपालले राखेको सातबुँदे प्रस्तावमा अध्यक्षको भनाइ आएपछि अरु कुरा तय हुने बताए । ‘अध्यक्षको भनाइ कस्तो आउँछ, त्यस आधारमा हामी रणनीति तय गछौर्‌ँ’ उनले भने, ‘अध्यक्षको कार्यशैलीले पार्टी एक बनाउने कि दुई बनाउने भन्ने गम्भीर प्रश्न खडा भएको छ ।’

ओली भने आफ्ना पक्षका धेरै नेताहरुलाई पोलिटब्यूरोमा ल्याउने र आफूअनुकूल निर्णय गर्न सकिने पार्टी संरचना तयार गर्ने योजनामा छन् । पोलिटब्यूरो चयनका लागि निर्वाचनमा जाने र नेपाल पक्षका नेताहरुलाई आउनै नदिने तयारी गरेको स्रोतले बतायो । यसो गर्दा प्रजातान्त्रिक विधिको दुहाई दिन पनि पाइने र आफूअनुकूल नतिजा पनि आउने ओली पक्षको विश्लेषण छ । ओलीले आफूअनुकूल पार्टी सञ्चालन गर्न आफ्ना सबैभन्दा निकटस्थ पात्र उपाध्यक्ष विद्या भण्डारी र नेता शंकर पोखरेलसँग परामर्श गरिरहेका छन् । पार्टी सञ्चालनको योजनामा उनकै गुटका महासचिव ईश्वर पोखरेलको सहभागी गराउने गरिएको छ । पोलिटब्यूरो र स्थायी समिति नभएकाले अहिले अध्यक्ष नै संस्थागत भएको तर्कसहित नेपाल पक्षलाई बाइपास गरेर एकल निर्णयमा पार्टी चलाउन सकिने भित्री निस्कर्ष ओली पक्षको छ ।

नेपालले केन्द्रीय कमिटी बैठकमा राखेका विषय पार्टीको सम्पत्तिका रुपमा रहने गरी सम्बोधन गर्ने तर निर्णय प्रक्रिया आफ्नो ढंगले गर्ने ओली पक्षको रणनीति छ । ‘अध्यक्ष ओलीले नेपालले उठाएका सातबुँदे विरोधपत्रमा मंगलबार सम्बोधनसहित केही विषयमा आत्मओलोचना पनि गरेजस्तो गर्नेछन्, राम्रा कुरा लागू गर्ने प्रतिबद्धता पनि जनाउनेछन् तर निर्णय प्रक्रिया अध्यक्षात्मक प्रणाली अनुसार नै हुने सन्देश पनि छाड्नेछन्,’ उनी निकटका एक केन्द्रीय सदस्य भन्छन् । ‘यसअघि सुरेन्द्र पाण्डे र विद्या भण्डारी मन्त्री बनाउँदा कसलाई थाहा थियो र अहिले नेपालले त्यो प्रश्न उठाउन मिल्छ ?’ ती सदस्यको टिप्पणी छ, ‘धेरै कुरा नेपालले यसअघि आफ्नै कार्यकालकै आलोचना गरेका छन् ।’

केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र एकअर्काको अस्तित्व स्वीकार नगर्ने दुबै लाइनको तयारी देखिएको बताए । ओलीका निकटस्थ मानिए पनि महाधिवेशनमा नेपाल पक्षमा लागेर अन्तिममा तटस्थ बसेका श्रेष्ठ भन्छन्, ‘मंगलबारको बैठकमा दुवै पक्षको भिड्ने तयारी देखिन्छ । महाधिवेशनपछि पार्टीले लिने पहिलो गतिमै ब्रेक लागेकाले अब पाँच वर्षको यात्रा असहज बनेको छ।’

१४ कात्तिकमा नेपालले ओलीविरुद्ध राखेको सात बुँदे प्रस्तावका कारण स्थगन भएको केन्द्रीय समिति बैठक मंगलबार १२ बजे बोलाइएको छ ।


  •  
  •  
  •