कांग्रेस बैठकमा देउवा पक्ष: ‘अग्रिम महाधिवेशन अस्वीकार्य’

‘नाकाबन्दीमा नबोल्नु हाम्रो गल्ती हो, भारतलाई कन्भिन्स गर्न नसक्दा राष्ट्रियता ओली ब्रान्ड बन्न पुग्यो’
279
  •  
  •  
  •  

काठमाडौँ,१६ चैत्र — कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय सदस्यहरूले पार्टी अग्रिम महाधिवेशनमा जान नहुने भन्दै त्यसको विरोध गरेका छन् ।

संस्थापनइतर पक्षले संघीय संरचनाअनुसार रूपान्तरण हुने पार्टीका निकायलाई पूर्णता दिन अग्रिम महाधिवेशन माग गरिरहेका बेला देउवापक्षीय सदस्यहरूले यो अस्वीकार्य हुने धारणा अघि सार्दै सभापति देउवाको बचाउ गरेका हुन् ।

कांग्रेसमा महासमिति बैठकबाट विधान संशोधन गर्ने तयारी छ । कांग्रेसको पार्टी संरचना अहिले ७५ जिल्ला, २ सय ४० निर्वाचन क्षेत्र र झन्डै ४ हजार संख्याका स्थानीय निकायमै आधारित छन् । राज्य संघीय संरचनामा जाँदा ७७ जिल्ला, १ सय ६५ प्रतिनिधिसभा र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रअनुसारको पार्टी संरचनामा जानुपर्ने हुन्छ । विधान संशोधन गर्नासाथ नयाँ संरचनाअनुरूप पार्टी संरचना तयार गर्न १४ औं महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितले दबाब दिँदै आएका छन् ।

तर, संस्थापन पक्षका सदस्यले तत्कालका लागि तदर्थ समिति बनाउन उपयुक्त हुने भन्दै अग्रिम महाधिवेशनको विरोध गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले लिखित रूपमै अग्रिम महाधिवेशनको माग बैठकमा प्रस्तुत गरेका थिए । ‘अर्ली महाधिवेशनमा नलागौं,’ बिहीबारको बैठकमा देउवा पक्षीय नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘यही विषयलाई लिएर सभापतिलाई कमजोर बनाउन खोज्दा अन्तत: पार्टी कमजोर हुन्छ ।’ संसदीय दलको नेतामा उम्मेदवार बन्न नदिन धेरै तिरबाट कसरत हुँदासमेत सभापति नै अत्यधिक मतबाट विजयी भएको बताउँदै कार्कीले थपे, ‘अहिले पनि पार्टीभित्र सभापतिकै पक्षमा जनमत छ । सस्तो लोकप्रियताका लागि कोही पनि नलागी पार्टीलाई एक बनाउने दिशामा लागौं ।’

भारतीय नाकाबन्दीमा पार्टी नबोल्नुलाई भने उनले गल्ती भएको सकारे । ‘हामीले भारतलाई नाकाबन्दी नगरी मित्रवत् व्यवहार गर्न कन्भिन्स गर्न सक्नुपथ्र्यो,’ कार्कीले भने, ‘हाम्रो कमजोरी र भूलले राष्ट्रियताको मुद्दा अहिले ओली ब्रान्ड बन्न पुगेको छ ।’

उनले निर्वाचनमा पार्टी हार्नुमा नेतृत्वको दोष मात्रै नभएको दाबी गरे । ‘मूल कारण एमाले र माओवादी केन्द्रको गठबन्धन नै हो । कांग्रेसले पनि माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गएको भए हाम्रै अवस्थामा एमाले हुने थियो,’ उनले भने, ‘भरतपुरको पाठले पनि हामीले माओवादी केन्द्रसँग गठबन्धन गर्न सकेनौं ।’

राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधनका कारण बिहीबार बैठक छोटो समय मात्र बसेको थियो । बैठकमा कार्की, केन्द्रीय सदस्य भीष्म आङदेम्बे, महेन्द्र यादव र रमेश रिजालले मात्रै मन्तव्य राखेका थिए । चारै जना देउवापक्षीय सदस्य हुन् । उनीहरू सबैले नेतृत्वको बचाउ गर्दै पार्टीभित्र विवाद र ध्रुवीकरण नबढाउन आग्रह गरे । रिजालले कांग्रेस मन नपराउनेलाई वैकल्पिक पार्टीमा जाने अवसरसमेत रहेकाले पार्टीले कार्यकर्ता पंक्तिलाई सन्तुष्ट बनाउने गरी काम गर्नुपर्ने बताए । जारी बैठक शुक्रबार बिहानै बस्दै छ ।कान्तिपुर दैनिकबाट


  •  
  •  
  •