महोत्तरी, १० पुस (ओएनएस) : समुदायलाई शिक्षा सम्बन्धी सूचना उपलब्ध एवं पत्रपत्रिका अध्ययनका लागि गाउँ–गाउँमा दर्ता भएका सामुदायीक अध्ययन केन्द्रहरुबारे स्थानीय नै अनभिज्ञ छन् ।
जिल्ला शिक्षा कार्यालय महोत्तरीमा दर्ता भएका केन्द्रहरुलाई सोही कार्यालयले तीन बर्षदेखि पत्रपत्रिका खरिद, कार्यालय व्यवस्थापन तथा परिचालकको पारिश्रमिक वापत बार्षिक ५० हजार दिदैं आएपनि समूदाय लाभान्वित हुन पाएका छैनन । समूदायको भेलाबाट केन्द्र स्थापना गर्नुपर्ने प्रावधान रहेकोमा अधिकांशशिक्षकहरुले नै फर्जी कागजात तयार गरि अधिपत्य जमाएका थिए ।
स्थलगत अनुगमनमा केन्द्रको बेतिथिबारे थाहा पाएलगत्तै शिक्षण पेशामा रहेका २२ जना अध्यक्षलाई राजिनामा गर्न लगाइएको शिक्षा कार्यालयले जनाएको छ ।
सामुदायिक अध्ययन केन्द्रहरु अव्यवस्थित रहेको स्विकार्दै सुधार गर्न मौका दिइएकोले ‘झोले’ भन्न नमिल्ने शिक्षा अधिकारी अरबिन्द लाल कर्णले बताए । उनले भने,‘बार्षिक ५० हजारबाट पारिश्रमिकबाहेक सधैंभरि कुर्सी टेबुल नै किनेको विवरणले पनि धेरै शंका उब्जाएको थियो ।’
यसबर्ष माघ १ गतेदेखि शुरु हुने सघन साक्षरता कक्षा संचालनका ४४ वटा केन्द्रहरुलाई दर्ता भएकै नगरपािलकाको वडा तथा गाउँ बिकास समितिको जिम्मेवारी दिइएको छ । शिक्षा अधिकारी कर्णका अनुसार केन्द्रको प्रचारप्रसार तथा सुधारका लागि यो मौका दिइएको हो ।
स्थानीयहरुले केन्द्रको स्थापनाबारे अनभिज्ञ रहेको निवेदन जिल्ला प्रशासन कार्यालय तथा शिक्षा कार्यालयमा दर्ता गराएपनि कारबाही हुन नसकेको सोनमाका देबेन्द्र यादवले बताए । अर्कोतर्फ केन्द्र संचालकहरुले थोरै बजेट भएका कारण धेरै काम गर्न नसकेको दाबी गरेका छन् ।