प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

170
  •  
  •  
  •  

काठमाडौँ, १६ बैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।

आज बसेको मूल समारोह समितिको बैठकले गणतन्त्र दिवसका अवसरमा जेठ १४ देखि १६ गतेसम्म तीन दिन देशभित्र र बाहिर रहेका नेपाली नियोगहरुमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा कामु प्रधान न्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरुसहितको मूल समारोह समिति गठन गरिएको छ ।

यस्तै, सूचना तथा सञ्चारमन्त्री शेरधन राईको संयोजकत्वमा मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक, नेपाल टेलिभिजनका अध्यक्ष, गोरखापत्र संस्थानका अध्यक्ष, रेडियो नेपालका कार्यकारी निर्देशकसहितको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको संयोजकत्वमा ग्राउन्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन उपसमिति र काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति गठन गरिएको छ ।

बैठकले जेठ १४ गते गणतन्त्र दिवस मनाउन सञ्चारमाध्यमलाई सार्वजनिक अपिल गर्ने, सञ्चारमाध्यमबाट गणतन्त्रसम्बन्धी लेख रचनाको सङ्गालो प्रकाशन गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम तय गरेको छ ।

जेठ १५ गते गणतन्त्र दिवसका दिन सूर्योदयका साथ नेपाली सेनाद्वारा बिगुल बजाउने, तोप र बन्दुकको बढाइँ गर्ने, मठमन्दिर, मस्जिद, बौद्ध विहार, गिर्जाघरलगायतका धार्मिकस्थलमा पूजापाठ तथा प्रार्थनाको कार्यक्रम गरिने छ ।

सोही दिन टुँडिखेलमा सुरक्षा निकाय, खेलाडी, विद्यार्थीबाट मार्चपास विविध कार्यक्रम र झाँकी प्रदर्शन गरिने छ । उक्त कार्यक्रम बिहान ८ बजे हुनेछ र मूल समारोह समितिका अध्यक्ष तथा सदस्यहरु, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राजनीतिक दलका नेता, कार्यकर्ता, खेलाडी, मजदुर, किसान, सर्वसाधारणको समेत उपस्थिती हुनेछ । सोही दिन साँझ दीपावली गरिने छ ।

जेठ १६ गते प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता र साँझ दीपावली गर्ने कार्यक्रम छ ।


  •  
  •  
  •