अख्तियारको चेतावनी : कालोबजारी रोक्न नसके कारबाही

198
  •  
  •  
  •  

काठमाडौँ, १३ मंसिर(ओएनएस) : सर्वसाधारणले सहज रूपमा ग्यास तथा इन्धन पाउन नसकेको र कालोबजारी फस्टाएको अवस्थाको अन्त्य गर्न अख्तियारले सम्बन्धित सबै निकायलाई चेतावनी दिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आईतबार भूकम्प पीडितलाई राहत वितरणमा भएको अनियमितता र नाकाबन्दीपछि मौलाएको कालोबजारीका सम्बन्धमा प्रतिवेदन सार्वजनिक गर्नका लागि आयोजित कार्यक्रममा तत्काल कालोबजारी रोक्न सम्बन्धित निकायलाई चेतावनी दिएको हो ।

उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सम्बन्धित सरकारी निकायका अधिकारीलाई बोलाएर तत्काल कालोबजारी रोक्न निर्देशन दिँदै कालोबजारी रोक्न नसके कारबाहीका लागि तयार रहन चेतावनी दिएको हो ।

अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले सरकारले अहिले गरिरहेको अनुगमन नाममात्रको भएको भन्दै त्यसलाई कडाइ गर्न निर्देशन दिएका हुन् । सर्वसाधारणले लामोसमयसम्म लाइन बस्दासमेत ग्यास तथा इन्धन नपाउने तर पहुँचवालाले तत्काल पाउने अवस्था रहेको भन्दै तत्काल बेथिति रोक्न अख्तियारले चेतावनी दिएको हो ।

कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले अनुगमन भइरहेको बताए । उनले अनियमिततामा संलग्न भेटिएपछि ७ पम्प बन्द गरिएको र ८२ जनालाई पक्राउ गरी कारवाही थालिएको जानकारी दिएका थिए ।

यस्तै, काठमाडौंका प्रहरी प्रमुख विक्रमसिं थापाले पेट्रोलियमको कालोबजारी रोक्न नागढुंगा र फर्पिङमा विशेष निगरानी गरिने बताए । कालोबजारी गर्ने नियतले ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात गर्नेलाई कडाई गरिने उनले बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी यादव कोइरालाले साना व्यापारी भन्दापनि ठूला व्यवसायिक फर्महरुकै कारण खाद्यान्नमा कालोबजारी भइरहेको उल्लेख गर्दै त्यसलाई निगरानी गर्नुपर्ने बताए ।


  •  
  •  
  •