प्रधानसेनापतिद्वारा भारतीय सेनाको आर्मी वार कलेजको भ्रमण

324
  •  
  •  
  •  

काठमाडौँ, २१ माघ(ओएनएस) : मित्रराष्ट्र भारतको भ्रमणमा रहेका प्रधान सेनापति राजेन्द्र क्षत्रीले भारतको मध्यप्रदेश स्थित आर्मी वार कलेजको भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा आर्मी वार कलेजका कमाण्डेण्ट ल्युटिनेन्ट जनरल नर्सिंहनले प्रधान सेनापति क्षत्रीलाई स्वागत गरेका थिए । भारतको आर्मी वार कलेजमा नेपाली सेना ईन्फेन्ट्री तथा सिग्नल सम्बन्धि विभिन्न तालिमहरुमा सहभागी हुँदै आएको छ ।

भ्रमणको क्रममा प्रधान सेनापति क्षत्रीले आर्मी वार कलेजका कमाण्डाण्टसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा नेपाली सेना र भारतीय सेनाबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, पेशागत अभिबृद्धिको निमित्त दुवै देशबीच संचालित विभिन्न तालिमहरुको समिक्षा एवम् आपसी सहकार्य र पारस्परिक हितका विषयहरुमा छलफल भएको थियो ।

यसैगरी, भ्रमणको सिलसिलामा प्रधान सेनापति क्षत्रीले आज बिहिबार भारतको ईन्फेन्ट्री स्कुलको निरीक्षण भ्रमण गरेका छन् । सोही क्रममा प्रधान सेनापति क्षत्रीले ईन्फेन्ट्री स्कुलका कमाण्डेण्ट लेफ्टिनेन्ट जनरल कोन्साम हिमालय र आर्टिलरी स्कुलका कमाण्डाण्ट लेफ्टिनेन्ट जनरल विनोद नयानारसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । उक्त भेटवार्ताका क्रममा द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।

प्रधान सेनापति क्षत्री आज बेलुकी आर्टिलरी स्कुलका कमाण्डाण्टले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोज कार्यक्रममा सहभागी हुनेछन् ।


  •  
  •  
  •