उम्मेदवारी घोषणा गर्ने कसरतमा संस्थापन र देउवा

186
  •  
  •  
  •  

काठमाडौं १६ फागुन ।
कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवा समूहले सभापतिसहित पदाधिकारीको टिम औपचारिक रुपमा सोमबार घोषणा गर्ने भएको छ । संस्थापन पक्षले भने आइतबार बेलुका सम्म आफ्नो तर्फको टिमको टुंगो लगाउने बताएको छ । टुंगो लाग्न सके संस्थापन पक्ष पनि सोमबार नै टिम घोषणा गर्ने तयारीमा छ ।

आइतबारको केन्द्रीय समितिको बैठक सम्पन्न भएपछि देउवा नेतृत्वको टिम घोषणा हुन लागेको हो । देउवा पक्षका नेता विमलेन्द्र निधिले आईतबार केन्द्रीय समितिको बैठक रहेकाले सोमबार सभापतिसहित पदाधिकारीको टिम घोषणा गरिन लागेको बताए ।

देउवा पक्षका नेता

देउवा समूहले महामन्त्रीमा अर्जुननरसिंह केसीलाई अघि बढाउने भएको छ । कोषाध्यक्षमा चित्रलेखा यादव, पुष्पा भूषाल या लक्ष्मण घिमिरेमध्येबाट उम्मेदवार तय गरिन लागेको स्रोतले बतायो । मधेसी र महिला प्रतिनिधित्व हुने भएकाले यादवलाई कोषाध्यक्षमा राख्नुपर्ने जोड देउवा पक्षीय अधिकांश सदस्यको छ । केन्द्रीय सदस्य खुमबहादुर खडकाले भूषाललाई कोषाध्यक्षको उम्मेदवार बनाउन दबाव दिएका छन । घिमिरेलाई कोषाध्यक्ष बनाउनु पर्ने पक्षमा कुलवहादुर गुरुङ र गोविन्दराज जोशीको समूह छ । जोशीलगायतका समूहले घिमिरेलाई कोषाध्यक्ष बनाएमा पार्टीभित्रको विभाजन मेट्न समेत सहज हुने तर्क गर्दै आएका छन् ।

संस्थापनभित्र सभापतिका आकांक्षीहरुबीच आइतबार सांझ निर्णायक छलफल गरेर अघि बढ्ने तय भएको महामन्त्री कृष्णप्रसाद सिटौलाले बताए । ‘रामचन्द्रजीलगायत सभापतिका आंकाक्षीहरुबीच भोली (आईतबार) निर्णायक कुराकानी हुने भएको छ’ उनले भने,’केन्द्रीय कार्यसमितिको बैठकले छलफललाई प्रभावित पारेमा सोमबार विहानसम्म हामी एउटा टुंगोमा हामी पुग्छौ ।’ सिटौलाले सहमतिको संभावना कम रहेको बताउँदै आफ्नो उम्मेदवारी दिने तयारीमा जुटेको बताए । शनीबार सांझपनि वीपी पुत्र सशांक निवासमा संस्थापन पक्षको बैठक बसेको थियो । त्यसबाट पनि कुनै निष्कर्ष ननिस्केको बैठकमा सहभागि एक नेताले बताए ।

‘रुखको टुप्पोमा पुगीसकियो । अब यता हेरेपनि भिर उता हेरेपनि भिर नै देखिन्छ’ आफ्नो उम्मेदवारी १८ गते घोषणा गर्ने संकेत गर्दे सिटौलाले भने,’सहमति नभएपनि स्वस्थ्य प्रतिस्पर्धा गरौ । पार्टीको आन्तरिक चुनावमा कसैको हार र जित नहेरी अघि बढौं भन्ने मेरो मान्यता छ ।’ सिटौला नआएमा पौडेलले आफूले चुनाव जितेको अवस्थामा उपसभापतिमा प्रकाशमान सिंहलाई राखेर महामन्त्रीमा सशांक र कोषाध्यक्षमा पद्मनारायण चौधरी या फरमुल्ला मन्सुरमध्ये एक उम्मेदवार हुनेगरी टिम बनाउने तयारीमा छन । सिंहले प्रभावकारी र चुनाव जित्न सक्ने टिम बनाएमा पौडेललाई स्वीकार्न सकिने बताए । ‘पार्टीभित्र उहाँ बरिष्ठ नेता पनि हो । टिम प्रभावकारी बनाए सहमति हुन नसक्ने अवस्था छैन’ आइतबार चाक्सीबारीस्थित निवासमा कान्तिपुरसँग कुरा गर्दै सिंहले भने,’तर अहिले सम्म त्यस्तो टिम बनीसकेको अवस्था छैन ।’

पौडेलले पार्टी र सरकारमा ठाउँ दिएर सिटौलालाई व्यवस्थापन गर्ने अन्तिम प्रयास थालेका छन् । उपसभापतिमा सिंहलाई राखेर सिटौलालाई अन्तिम अवस्थामा संसदीय दलको नेताका लागि अघि बढाउन सकिने आश्वासन दिन सकिने पौडेल निकट स्रोतले बतायो । स्रोतका अनुसार सिटौलाले आफ्नो टिमबाट महामन्त्री बनाउन लागेका केन्द्रीय सदस्य गगन थापाको पनि व्यवस्थाप हुनुपर्ने बिषयलाई जोडले उठाएका छन् । सिटौलाले भने आफूले पार्टीभित्र दोस्रो स्थान चाहेको या संसदीय दलको नेता खोजेको भन्ने भनाई सत्य नरहेको बताए ।

‘मेरो पदको कुरा गर्नु भएको हो भने म पदमा बसेर या नबसेर पनि काम गर्न सक्छु । सडकमा रहेर पनि काम गर्न सक्छु । मेरो लागि व्यवस्थापन आवश्यक छैन’ सिटौलाले कान्तिपुरसँग भने,’त्यो समस्याको विषय पनि होइन । केन्द्रमा धेरै नेता भए धेरै पद चाहियो भनेर हिड्नु राम्रो पनि होइन । सिंगो पार्टीलाई केन्द्रमा राखेर हिड्न आवश्यक छ । त्यसैलाई सोचेर म अघि बढेको हो ।’

उनले गिरिजाप्रसाद कोइरालाको बैचारिक उत्तराधिकारीको रुपमा सुशील कोइराला रहेका र सुशीलपछिको उत्तराधिकारी आफै रहेको बताए । संस्थापन पक्षको असली प्रतिनिधित्व आफूले गर्ने भएकाले संस्थापन पक्षका कार्यकर्ताको संरक्षण र सुरक्ष्ााका लागि आफू सभापतिका लागि उम्मेदवार बन्न लागेको बताए । महामन्त्रीद्वय सिंह र सिटौलाबीच शुक्रबार भएको छलफलमा सहमति हुन नसक्ने अवस्था भए तीनैजना बीच स्वस्थ्य प्रतिस्पर्धा गर्न समझदारी भएको खुलासा दुवैले गरेका छन । देउवा पक्षको तुलनामा संस्थापन पक्षको मत बढी भएकाले तीन जना उम्मेदवार बन्दापनि पहिलो चरणमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याउने तर्क सिंह र सिटौलाको छ । ‘तीन जना उम्मेदवार हुँदा एक/अर्काप्रति असन्तुष्ट मत संस्थापन पक्षमानै रोकिन्छ, देउवा पक्षमा जाँदैन’ सिटौलाले भने,’यसले पहिलो चरणमा रिजल्ट नहुन सक्छ र दोस्रो चरणमा जाँदा जसले धेरै भोट ल्याउँछ उसलाई सहयोग गर्ने एक खालको समझारी भएको छ ।’ सिंहले पनि यस्तो समझदारी भएको स्वीकारे । ‘सहमतिनै भएन भने के गर्ने त ? तीनै जना उम्मेदवारबीच फ्रेन्डली प्रतिस्पर्धा गरौ भन्ने कुराकानी समझदारी गरेका हौं ।’ देउवा समूहले भने करिव पचास प्रतिशत केन्द्रीय सदस्यहरुको टिम पनि तयार पारीसकेका छन् । केन्द्रीय सदस्यहरुको प्यानल भने औपचारिक रुपमा घोषणा नगर्ने पक्षमा देउवा समूह छ ।
यसैबीच कांग्रेस नेतृ सुजाताले आफूले सभापतिमा उम्मेदवारी दिने बताएकी छन् । पौडेलले महामन्त्रीमा कोइराला परिवारबाट शशांकलाई अघि सार्ने सम्भावना बढेपछि असन्तुष्ट भएकी सुजाताले शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै आफू सभापतिमा उठ्ने बताएकी हुन् ।

विधानको प्रस्ताव आए विरोध गर्ने

कांग्रेसको संस्थापन पक्षले केन्द्रीय पदाधिकारी बढाउने प्रस्ताव आइतबारको केन्द्रीय समितिको बैठकमा ल्याए कडा प्रतिवादमा उत्रने तयारी देउवा पक्षले गरेको छ । देउवाको बानेश्वरस्थित सम्पर्क कार्यालयमा भएको अनौपचारिक बैठकले यस्तो तयारी गरेको हो । देउवा पक्षीय नेता निधिले विधान संशोधन मस्यौदा समितिबाट पारित भएर मस्यौंदा नआएको अवस्थामा पदाधिकारी बढाउने प्रस्ताव प्रकृयागत रुपमै त्रुटी हुने बताए । ‘यदि बढाउने प्रस्ताव आएमा बैकल्पिक प्रस्ताव लैजाने तयारी हाम्रो हो’ उनले भने,’गाँउ, नगर, वडा र जिल्ला अधिवेशन भईसकेको अवस्थामा केन्द्रीय अधिवेशनका लागि छुट्टै प्रावधान राख्न बैधानिक हिसावले पनि मिल्दैन ।’ पदाधिकारी बढाउने प्रस्ताव ल्याईए देउवा पक्षले तयारी हालतमा राखेको हस्ताक्षर सहितको ज्ञापनपत्र कार्यबाहक सभापति पौडेललाई बुझाउने भएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •