‘व्यापार घाटा कम गर्न व्यावसायिक कफी खेतीको प्रवद्र्धन आवश्यक’

254
  •  
  •  
  •  

सिन्धुपाल्चोक, ३२ असार (ओएनएस) पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा बढ्दो व्यापार घाटा कम गर्न व्यावसायिक कफी खेतीको प्रवद्र्धन आवश्यक भएको बताएका छन् ।
बुधवार सिन्धुपाल्चोकको सुकुटेमा नव निर्मित कफी प्रशोधन तथा भण्डारण केन्द्रको उद्घाटन गर्दै कोइरालाले नेपालमा उत्पादित अर्गानिक कफीले अन्तर्राष्ट्रिय ख्याती पाएको सन्दर्भमा यसको व्यावसायिक क्षमतामा वृद्धि गर्नु आवश्यक रहेको बताएका हुन् ।

‘कफी किन्नेहरु विदेशबाट घर दैलोमै आएका छन् । कफी खेतीका लागि भौगोलिक अनुकूलता छ । जनताको जीवनस्तर उठाउन निर्वाहमुखीबाट व्यावसायिक खेती गर्नुको विकल्प छैन् , पूर्वमन्त्री कोइरालाले भने ‘कफीभित्र हरियो डलर छ । यसलाई पाखा भित्ता कान्लोमा लगाएर अभियान थालिनु पर्छ ।’
सरकारले कृषि क्षेत्रको आधुनिकीकरण व्यावसायिक खेतीका लागि थुप्रै सहुलियत दिने गरेको बताउँदै त्यसको प्रतिफल घरदैलोमा पु¥याउन सहकारी अभियान सफल हुने विश्वास व्यक्त गरे ।
कृषि व्यावसायिक तथा व्यापार आयोजना (प्याक्ट) का सञ्चार अधिकृत राजेन्द्र यादवले कृषकहरुको व्यावसायिक दक्षता वृद्धि गर्न सरकार योजनावद्ध ढंगमा अघि बढिरहेको बताए ।
कफी विज्ञ प्रचण्डमान श्रेष्ठले कफी खेतीप्रति सरकारको स्पष्ट नीति नभएका कारण यसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए ।
सिन्धुपाल्चोकका ३४ वटा गाविसको १२० हेक्टर क्षेत्रफलमा कफी खेती लगाइएको छ । जहाँ २२ सय घरधुरी कृषक कफी खेतीमा संलग्न छन् । सिन्धुपाल्चोकमा वर्षेनी उत्पादन हुने १२ टन कफी कोरिया निकासी हुने गरेको छ । उत्पादकहरुले ५ वर्षभित्र उत्पादन बढाएर ५० मेट्रिक टन पु¥याउने लक्ष्य राखेका छन् ।
‘छहारीमुनि कफीको बोट, तीन वर्षभित्र नोटै नोट’ नाराकासाथ विगत एक दशकदेखि सिन्धुपाल्चोकमा व्यावसायिक कफी खेती गरिदै आएको छ ।


  •  
  •  
  •