‘ककस’ ब्यूत्याउने प्रयास

50
  •  
  •  
  •  

काठमाडौं ६ असोज ।
विधानसभा भन्दा बाहिरको सभासदहरुको समूह ‘ककस’ लाई ब्युंत्याउन केही गैरसैरकारी संस्था जुटेका छन् । अन्तराष्ट्रिय श्रम संगठन -आइएलओ)को सहयोगमा आइडिया इन्टरनेशनल नामक गैरसरकारी संस्थाले आदिवासी/जनजाति सभासदहरुलाई भेला गराई बेग्लै समूह गठन गर्न दवाव दिएको हो ।

उक्त संस्थाले शुक्रवार राजधानीको एक होटलमा सभासदहरुलाई भेलाई गराई जातिय पहिचान स्थापित गर्नका लागि संविधानसभा भन्दा बाहिर पनि समूह बनाई छलफल गर्न जरुरी भएको बताएको थियो । साना पार्टीको पहलमा जुटेको उक्त भेलामा सहभागी कांग्रेस र एमाले सभासदहरुले भने ककसको विगतको अनुभव अपि्रय हुदा फेरी गठन गर्न नहुने सुझाव दिंदै बाहिरिएका थिए । कतिपय सभासदहरु भने उक्त प्रयासको विरोधमा बैठकमा सहभागी समेत भएनन् ।

‘पहिले पनि जनजाति सभासद समूह ककसको भूमिका संविधान लेखनमा राम्रो भएन’, भेलामा सहभागी हुन निम्ताइएका एमाले सभासद शेरबहादुर तामाङ्गले आइतवार कान्तिपुरसँग भने-‘जातिय पहिचानको मुद्धालाई बढी उठाउने र संविधान नै लेख्न नदिने खालको अनुभव पहिले भएकाले म सहभागी भइन ‘

जातिय आधारमा संघीयता हुनुपर्ने माग राख्दै आएका संघीय समाजवादी, खम्बुवान राष्ट्रिय मोर्चासहितका दलका नेताहरुले भेलाको अगुवाई गरेका थिए । मोर्चाबाट प्रतिनिधित्व गर्ने सभासद रामकुमार राईले अन्य पार्टीका सभासदहरुलाई संयोजन गरेका थिए ।

‘प्राय सबै दलका आदिवासी/जनजाति सभासद भेलामा थिए’, कांग्रेसका सभासद बहादुर सिंह लामाले भने-‘तर, मैले यसबारे पार्टीको आधिकारिक धारणा नबुझी केही भन्न नसक्ने बताए ।’ उनका अनुसार भेला अर्को दिन पनि बस्ने जानकारी गराइएको छ ।

एमाले सचिव योगेश भट्टराइले संविधानसभा स्वयंले सबै जात-जाति, भाषाभाषीको प्रतिनिधित्व गर्ने भएकाले बाहिरको संयन्त्र आवश्यक नभएको जानकारी दिए । ‘संविधानसभा आफैमा ककस हो । त्यसैले हामीले सभासदहरुलाई त्यस्तो संयन्त्र नबनाउन भनेका छौं’, विगतमा संविधानसभा बाहिर बनेका त्यस्ता समूहले राम्रो भूमिका नखेलेको सन्दर्भ उल्लेख गर्दै नेता भट्टराइले भने ।
कान्तिपुरबाट


  •  
  •  
  •