रुपन्देही, ९ माघ (ओएनएस) : रुपन्देही मूलुक क्लिङ्कर र सिमेन्टमा आत्मनिर्भर हुन लागिरहेका बेला सिमेन्ट उद्योगहरुले सधैजसो ढुवानी समस्या खेप्नु परेको छ । उत्पादित बस्तु बजार पठाउन नपाउने तथा कच्चा पदार्थ नै नपाएर सिमेन्ट उद्योगहरु उत्पादन घटाउन बाध्य भएका छन् ।
सरकारले सिमेन्ट र क्लिङकरमा आत्मनिर्भर बनाउन गएको वर्षदेखि सिमेन्ट उद्योगहरुलाई कच्चा पदार्थ र सहज आपूर्ति गर्ने योजना ल्याएको थियो । केही दिनयता लुम्बिनी कोरिडोरका अधिकांश सिमेन्ट उद्योगमा क्लिङ्करको अभाव भएको छ । दाङबाट आउने क्लिङ्करको ढुवानी नभएपछि सिमेन्ट उद्योगहरुले उत्पादन घटाउन बाध्य भएका छन् । दाङका ढुवानी व्यवसायीहरुको आपसी बिबादले झण्डै १० दिनदेखि रुपन्देहीमा क्लिङकर आएको छैन् ।
‘एक साताभन्दा बढी भयो, दाङबाट क्लिङ्कर आएको छैन ।’, पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघका अध्यक्ष ऋषिकेश अग्रवालले भने, ‘फ्याक्ट्री नै बन्द गर्ने अवस्था भएको छ ।’ स्वदेशी क्लिङकर प्रयोग गर्दै आएको उद्योगहरुले समस्या बेहोरेका हुन् । अम्बुजा सिमेन्टका सञ्चालक समेत रहेका अग्रवालले उद्योगमा जनतन २ सय टन मात्रै क्लिङ्कर आएको बताउनुभयो ।
केही मात्रा रुपन्देहीका क्लिङकर उद्योगले धाने पनि धेरै भारतबाट आयात गरिएको छ । अम्बुजा सिमेन्ट उद्योगले दैनिक ४ सय टन क्लिङकर खपत गर्ने गर्छ । लुम्बिनीमा कोरिडोरमा झण्डै एक दर्जन सिमेन्ट उद्योगहरु रहेका छन् ।
ती मध्ये अर्घाखाँची, ब्रृज सिमेन्ट उद्योगले रुपन्देहीकै क्लिङकर उद्योगबाट उत्पादित कच्चा पदार्थ प्रयोग गर्दै आएका छन् । ‘हामीले त हाम्रै उद्योगको कच्चा पदार्थ प्रयोग गरेका छौं । ’ अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक उद्धब बहादुर कार्कीले भने, ‘रुपन्देहीमा उत्पादन भएको क्लिङकरले सबै उद्योगको मागलाई थेग्न सक्दैन ।’ अघिल्लो वर्षसम्म लुम्बिनी कोरिडोरका सिमेन्ट उद्योगले मात्रै भारतबाट महिनामा १५ हजार टन क्लिङकर आयात गर्दै आएका थिए । यो वर्ष करिव करिव भारतबाट क्लिङ्कर आउन रोकिएको थियो । देशभरका ६० सिमेन्ट उद्योग मध्ये केहीले मात्रै भारतीय क्लिङकर प्रयोग गर्दै आएका छन् ।
दाङबाट क्लिङकर नआएपछि रुपन्देहीका उद्योगले भारतबाट ल्याउन बाध्य भएका हुन् । सिद्धार्थ सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवालले उद्योगहरुले भारतबाट क्लिङकर ल्याउन बाध्य भएको बताउनुभयो । ‘भारतबाट मगाउदा दैनिक ८० लाख जति रकम बिदेसिने गरेको छ, नेपालमै उत्पादित कच्चा पदार्थको रोकिएको ढुवानी खुलाउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो । एक टन क्लिङकरको मुल्य करिव ९ हजार पर्ने उद्योगीहरु बताउछन् ।
रुपन्देहीमा २ वटा र पश्चिमाञ्चलमा ४ वटा उद्योगले क्लिङकर उत्पादन गरिरहेका छन् । ती उद्योगहरुले उत्पादन गरेको क्लिङकरले मात्रै माग थेग्न सक्दैछन । महिनै पिच्छे हुने यातायात व्यवसायीको आन्दोलन र सिन्डिकेटले सिमेन्ट उद्योगहरुले उत्पादन क्षमता अनुसार सिमेन्ट उत्पादन गर्न सकेका छैनन् । दाङमा ट्रान्सपोर्ट व्यवसायीको सिन्डिकेटले ढुवानी रोकिएको उद्योगीहरु बताउछन् ।
सिमेन्ट र क्लिङकर उत्पादन बढाउन गएको वर्ष सरकारले १५ वटा सिमेन्ट उद्योगलाई बिभिन्न शिर्षकमा सहयोग गरेको थियो । लुम्बिनी अञ्चलका सिजि सिमेन्ट पाल्पा, सर्बाेत्तम सिमेन्ट, मकालु सिमेन्ट, पाल्पा सिमेन्ट, शुभश्री सिमेन्ट र सिजी सिमेन्ट नवलपरासीलाई खानी स्थलसम्मको पहुचका लागि सडक निर्माणमा करिव १२ करोड रकम मन्त्रालयले खर्च गरेको छ । सडक निर्माण गर्ने र चुनखानीसम्म उद्योगको पहुच पु¥याउने सरकारको योजना हो । केही दिन अघि मात्रै नवलपरासीमा सर्बाेत्तम सिमेन्टले उत्पादन शुरु गरिसकेको छ ।
उद्योेग मन्त्रालयले सडक निर्माण बाहेक लुम्बिनी अञ्चलका ३ सिमेन्ट उद्योेगलाई बिद्युत प्रशारण लाइन तथा स्टेशन निर्माण मा सहयोग गरेको छ । सिजि सिमेन्ट पाल्पालाई ७५ लाख तथा सर्बाेत्तम सिमेन्ट र पाल्पा सिमेन्ट सुनवललाई ३ करोड ५० लाख बजेट बिनियोजन गरेको छ । सो बजेटबाट ति उद्योगका लागि चाहिने १३२÷३३ केभीको सबस्टेशन निर्माण हुनेछ । लुम्बिनी अञ्चलका कतिपय उद्योगहरुले पाल्पाको पहाडको चट्टानलाई काटेर किलिंकर निर्माण गरिरहेका छन् ।
नेपालमा बढ्दै गएका सिमेन्ट उद्योगले भारतबाट आउने सिमेन्टको मात्रा घटाउदै लगेका छन् । अर्घाखाची सिमेन्टका प्रबन्ध निर्देशक कार्की पहाडी खानीहरुको कच्चा पदार्थ भरपुर प्रयोग गर्न सकिए दुई वर्षभित्रमा भारतको बिहार क्षेत्रमा सिमेन्ट निर्यात गर्न सकिने बताउनुहुन्छ । उद्योगहरुलाई फुजफेजमा चल्ने गरी कच्चा पदार्थ र बिद्युत आपूर्ति हुनुपर्ने उद्योगीको भनाई छ ।