काठमाडौं, २४ कात्तिक (ओएनएस) : अर्काे महिना काठमाडौंमा हुन लागेको १८ औं सार्क सम्मेलनमा नजिकिदै गर्दा वातावरणीय मुद्दामा पनि साझा प्रतिबद्धता ब्यक्त गर्न सरोकारवालाहरुले माग गरेका छन् ।
काठमाडौंमा सोमबार दक्षिण एसियाली क्षेत्रीय नीति कार्यशाला गोष्ठि आयोजना गर्दै सरोकारवालाहरुले उक्त माग गरेका हुन् । उनीहरुले दैनिक जीवनमा गम्भिर असर पार्ने प्रकोप, जलबायु परिवर्तन, कृषि, जमीन र खाद्य सुरक्षाको बिषयमा सार्क राष्ट्र प्रमुखहरुले भाषण मात्र गर्ने गरेको तर साझा प्रतिबद्धता ब्यक्त गर्न नसकेको बताए ।
कार्यक्रममा संबिधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले प्राकृतीक प्रकोपको समस्या गरिब राष्ट्रलाई मात्र नभई धनि राष्ट्रको पनि उत्तिकै चुनौतीपूर्ण समस्या भएको बताए । वातावरणमा प्रत्यक्ष असर पर्ने यो मुद्दाले समग्र विश्वलाई एकै पटक प्रभाव पार्ने भएकाले समस्या समाधान गर्न सबै राष्ट्र गम्भिर बन्नु पर्ने उनको तर्क थियो ।
अध्यक्ष नेम्बाङले समस्या समाधानको लागि ब्यक्तिगत र राजनीतिक तहमा कुरा राख्ने प्रतिबद्धता ब्यक्त गरे । उनले नेपालमा भैरहेका बिकास निर्माणका कार्यहरु प्रकृति मैत्री नभएको बताउदै मानिसका दैनिक कार्यले बातावरण बिर्गाने जिकिर गरे । यस्ता कार्यशाला गोष्ठिहरुले मानिसहरुलाई वातारवण मैत्रीपूर्ण बन्न प्रेरित गर्ने अध्यक्ष नेम्बाङको भनाई थियो ।
१८ औं सार्क सम्मेलनअघि भएको कार्यक्रमले सार्क राष्ट्र प्रमुखहरुले ध्यान तान्न सफल हुने नेम्बाङले विश्वास ब्यक्त गरे । साथै नेम्बाङले वातावरणको मुद्दालाई गम्भिर मान्दै प्रकोप ब्यवस्थापनको लागि राष्ट्रिय नीति बनाउन कार्यक्रमले पे्ररित गर्ने बताए । विकासिल राष्ट्रहरुले प्राकृतिक सम्पदाबाट फाइदा लिन सक्ने तर त्यसको लागि सम्पदालाई बिनास हुनबाट रोक्नु पर्ने सभामुखको भनाई थियो ।
अक्फाम इन नेपालले संयोजन गरेको कार्यक्रम सामुदायीक आत्मनिर्भर केन्द्र (सीएसआरसी) लगायत पाँच गैरसरकारी संस्था आयोजना गरेका हुन् । दुई दिने कार्यक्रम मंगलबारसम्म चल्नेछ ।
विश्वको एक चौथाई जनसंख्याको बसोबास रहेको सार्क क्षेत्र प्राकृतिक बिपतको जोखिममा छ । पछिल्लो ४२ बर्षमा यस क्षेत्रले ९ सय भन्दा बढि प्राकृतीक प्रकोपको सामाना गरिसकेको छ । विश्व बैंकका अनुसार १९९० देखि २००८ सम्ममा सार्कका ७ करोड ५० लाख भन्दा बढि मानिस प्राकृतीक बिपत्तीबाट प्रभावित भएका थिए । जसमध्यै २ लाख ३० हजारले ज्यान गुमाएका थिए ।
गत बैसाकमा विश्वको सर्वाेच्च शिखर सगरमाथामा गएको हिम पहिरो पछिल्लो प्राकृतीक प्रकोपको उदाहरण हो । दुई दर्जन बढिको ज्यान गएको उक्त दुर्घटनाबाट सार्क क्षेत्रमा जलवायु परिवर्तनको असर बढिरहेको देखिएको छ ।