पढाई सुरू, किताब छापिएकै छैन्

617
  •  
  •  
  •  

classroomकाठमाडौ, २ बैशाख : मुलुकभर बुधबारदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगिसक्नुपर्नेमा अझै १३ लाख किताब छाप्नै बाँकी छ । जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशनले समयमै छपाइ गरी जिल्ला/जिल्लामा आवश्यक संख्यामा पुस्तक पुर्‍याउन नसक्दा यसपल्ट पनि पुस्तक अभाव हुने भएको छ ।

‘हिंसा दुव्र्यवहार र विभेदमुक्त विद्यालय बनाऔं, सबै बालबालिकालाई विद्यालय पठाऔं’ भन्ने नाराका साथ बुधबारदेखि भर्ना अभियान सुरु भएको छ । अभियान सफल पार्न भन्दै केन्द्रदेखि जिल्ला तहसम्मै प्रचारप्रसार तीव्र बनाइए पनि शिक्षा मन्त्रालयले देशभरका विद्यार्थीलाई बेलैमा पाठ्यपुस्तक पुर्‍याउन सकेको छैन ।

चैत २२ मा भएको केन्द्रीय अनुगमन समितिको बैठकले जनक शिक्षाले २० लाख पुस्तक छपाइ गर्न नसक्ने भन्दै वैकल्पिक व्यवस्था गर्न शिक्षा मन्त्रालयमा पत्र पठाएको थियो । समिति संयोजक शिक्षा विभागका महानिर्देशक आफैं हुन् । शिक्षामन्त्री चित्रलेखा यादव र सचिव विश्वप्रकाश पण्डित हाल विदेश भ्रमणमा रहेकाले पुस्तक अभावबारे के गर्ने भन्ने निर्णय नै हुन सकेको छैन । ‘पुस्तक अपुग हुने पत्र मन्त्रालयमा आइसकेको छ । अब के गर्ने भन्ने केही निर्णय हुन सकेको छैन,’ समितिका एक सदस्यले भने, ‘मन्त्रालयकै ढिलासुस्तीले विद्यार्थीले बेलैमा पुस्तक नपाउने भए ।’

करिब ५९ लाख विद्यार्थीका लागि आवश्यक पुस्तक छपाइ र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशनले चैत २० सम्ममा जिल्ला सदरमुकाममा पाठ्यपुस्तक पुर्‍याउने प्रतिबद्धता जनाएका थिए । ‘जिल्ला सदरमुकाम पुर्‍याउनु त टाढाको कुरा छपाइ पनि सकिएको छैन,’ पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिका सदस्य सुप्रभात भण्डारीले भने, ‘यस वर्ष पनि भर्नाअघि विद्यार्थीको हातमा पुस्तक नपुग्ने भयो । जहिले पनि बहानाबाजी भइरहेको छ ।’

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चाक अनिल झाले कक्षा ६ र ७ को १३ लाख मात्रै पुस्तक छाप्न बाँकी रहेको बताए । कक्षा ८ को ३ लाखभन्दा बढी पुस्तक ‘फिनसिङ’ हुन बाँकी रहेको उनले बताए । उनका अनुसार ९ र १० को सबै पुस्तक छपाइ गरी जिल्ला-जिल्लामा पुर्‍याइसकिएको छ । नेपालगन्ज र धनगढीमा ६ र ७ को तीन/तीन लाख पुस्तक अपुग रहेको उनले जनाए । जनक शिक्षालाई ६ देखि १० सम्मको र निजी प्रकाशनलाई १ देखि ५ कक्षाको पुस्तक छपाइ गरी शैक्षिक सत्र सुरु हुनुअगावै जिल्ला-जिल्लामा पुर्‍याइसक्ने जिम्मा दिइएको थियो ।

झाले दुई साताभित्र छपाइ र वितरणको काम सकिने दाबी गरे । साझा प्रकाशन र जनक शिक्षाले अपुग पुस्तक छपाइ गरिरहेको उनले बताए । साझाले दैनिक २० हजार र केन्द्रले सरदर ८० हजार पुस्तक छपाइ गरिरहेको दाबी उनको छ । ‘छपाइ र वितरण सँगै हुन्छ,’ उनले भने, ‘विगतको जस्तो समस्या हुँदैन ।’ कान्तिपुर दैनिकबाट


  •  
  •  
  •