प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीच खटपट सुरू

310
  •  
  •  
  •  

Sushil-Koirala-kp-oliकाठमाडौँ, १४ असोज(ओएनएस) : ‘प्रधानमन्त्रीज्यू, तपाईं टीकापुर गएर गल्ती गर्नुभयो ।’

‘किन र ?’

‘तीन दलीय सहमतिको आधारमा सबै कुरा चलेका बेलामा तपाईं हामीसँग सल्लाह नै नगरी जाने ?’

‘ओलीजी, म दलको नेता मात्र होइन । देशको प्रधानमन्त्री पनि हो । मैले आफ्नो दायित्व पूरा गरेको हुँ ।’

यो संवाद प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको हो । प्रधानमन्त्री कोइराला संघीयताको सीमांकनसँगै दंगाग्रस्त बनेको क्षेत्र भ्रमणका क्रममा टीकापुर पुगेर फर्केपछि दुई सत्ता साझेदार दलका नेताबीचको छलफल हुँदा यो संवाद भएको हो ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय दबाब र चलखेलको बेवास्ता गर्दै संविधान जारी गर्न प्रधानमन्त्री सुशील कोइराला, प्रमुख सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओली र विपक्षी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देखाएको एकता सर्वत्र चर्चाको विषय बन्यो । यसले संविधान जारी गर्न र एक दशक लामो संक्रमणबाट मुलुकलाई बाहिर ल्याउन मद्धत पनि पुग्यो ।

तर, संविधान जारी भएलगत्तै प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीच खटपट सुरु भएको छ । संविधान जारी भएपछि उत्पन्न राजनीतिक समस्या समाधान र सरकार सञ्चालन शैली विवादका विषय बनेका छन् ।

गत असोज ९ गते प्रधानमन्त्री सुशील कोइराला कैलालीको टीकापुर लगायत अन्य केही स्थानमा पुगेर आएपछि भएको भेटका क्रममा यी खटपट सुरू भएको हो । केपी ओलीले आफूहरूलाई जानकारी नै नदिई टीकापुर गएको भन्दै गुनासो गरेका थिए । आफूहरूलाई पनि सँगै लिएर जानुपथ्र्यो भन्ने गुनासोमा कोइरालाले आफू प्रधानमन्त्री भएकाले आफ्नो हिसाबले टीकापुर गएको बताएका थिए ।

प्रधानमन्त्री भए पनि पछिल्लो अवस्थामा तीन दल एकसाथ हिँडेको स्मरण गराउँदै ओलीले सबै कामहरू तीन दलको सहमतिमा भइरहेको र कतै जाँदा पनि आफूहरू साथ देखिँदा जनताबीच पनि राम्रो सन्देश जाने बताएका थिए ।

प्रधानमन्त्री कोइरालाले सहमतिमा नै हिँड्ने भए एमालेले किन अख्तियारले कारबाही गर्न आग्रह गर्दा समेत एमालेका मन्त्रीलाई फिर्ता नबोलाएको भन्दै प्रतिप्रश्न गरेका थिए । यस्तै, वामदेव गौतमले सर्वोच्चको निर्देशन समेत नमानी डिआईजीको बढुवाको काम समेत रोकेकोमा असन्तुष्टी व्यक्त गरेका थिए । ओलीलाई एमालेका मन्त्रीहरूले मनोमानी गरिरहेको र अध्यक्षका नाताले केही भन्नुपर्नेमा चुप लागेर बसेको आरोप लगाउँदै उनले प्रश्न गरेका थिए, ‘तपाईँ अख्तियार र सर्वोच्चको निर्देशन पनि नमान्ने, तपाई कसरी लोकतन्त्रवादी ?’ प्रधानमन्त्रीले गृहमन्त्री वामदेव गौतमलाई विभिन्न स्थानमा नियुक्ति लगायत सरुवा तथा बढुवाका विषयमा आफूले बारम्बार भन्दा पनि बेवास्ता गरेको बताएका थिए ।

ओलीले यी सबै कार्य नयाँ सरकार आएपछि हुने बताउँदै अहिले नेपाल प्रहरीका डीआईजीको सरुवा लगायत अन्य महत्वपूर्ण नियुक्ति, सरुवा र बढुवाका काम नगर्न आग्रह गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार, प्रधानमन्त्री कोइरालाले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आफू राजीनामा दिने तर नयाँ सहमतिको सरकार गठनको भने जिम्मा लिन नसक्ने बताएका थिए । कोइरालालाई उद्धृत गर्दै स्रोतको भनाइ छ, ‘ठीक छ, म राजीनामा दिन्छु । त्यसपछिको अवस्था सम्हाल्ने जिम्मा पनि तपाईँको र नयाँ सहमतिको सरकार गठन गर्ने जिम्मा पनि तपाईँको ।’

संविधान जारी हुनुअघि दलहरूबीच भएको भनिएको गोप्य सहमतिअनुसार केपी ओली प्रधानमन्त्री र सुशील कोइराला राष्ट्रपति बन्ने बताइएको छ । नेपालको नयाँ संविधान अनुसार १५ असोजबाट नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुनुपर्छ । संसदको अधिवेशन सकिएकाले नयाँ सरकार गठनका लागि विषेश अधिवेशन बोलाइएको छ ।


  •  
  •  
  •