सीके राउतसँग भएका सहमतिले जनतामा आशंका बढाएको छ : अध्यक्ष थापा

474
  •  
  •  
  •  

नेपालगञ्ज, २७ फागुन(ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सीके राउतसँग भएका सहमतिमा प्रयोग भएका दुई अर्थ लाग्ने भाषाले जनतामा आशंका बढाएको भन्दै सरकारले यसबारे प्रस्ट पार्नुपर्ने बताएका छन् ।

मिडिया नेपालले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष थापाले सरकारसँग भएको सम्झौताको मसी सुक्न नपाउँदै विखण्डनको नारा लाग्नु, देश टुक्राउने ब्यानर, प्लेकार्ड र झण्डासहित प्रदर्शन हुनु र सरकार मौनदर्शकको रुपमा रहनु भत्सनायोग्य भएको भन्दै उनले टिप्पणी गरे ।

जनअभिमत भन्ने शब्दलाई सीके राउत समूहले जनमत संग्रहको रुपमा व्याख्या गरिरहेको बताउँदै अध्यक्ष थापाले आवधिक निर्वाचन भए पनि राष्ट्रिय अखण्डता, सार्वभौमिकता स्वतन्त्रता कुनै निर्वाचनबाट एजेण्डा बनाउन नसकिने स्पष्ट पारे ।

सहमतिमा राउत समूहले विखण्डनको एजेण्डा छोडेको भनेर कहीँ पनि उल्लेख नभएको भन्दै उनले गम्भीर आशंका जन्माएको बताए ।

थापाले फागुन १५ गते ताप्लेजुङबाट शुरु भएको राष्ट्रिय स्वाभिमान यात्रा चैत १ गते राजधानी पुगेर समापन हुने र त्यसै दिन केन्द्रीय कार्यसमितिको बैठकले संघर्षका कार्यक्रम तय गर्ने समेत जानकारी गराएका थिए ।


  •  
  •  
  •