आमसभा गर्न खोजेपछि सिके राउत फेरि पक्राउ

472
  •  
  •  
  •  

महोत्तरी, १४ पुस (ओएनएस)  :  महोत्तरी प्रहरीले आइतबार राती रिहा गरेका सिके राउतलाई आमसभा गर्न खोजेपछि सोमबार पुनः पक्राउ गरेको छ ।

सोमवार दिउँसो नगरपालिका चोकबाट राउतसहित पाँच जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा राउतवाहेक चन्दन सिंह, गर्जेन्द्र गुप्ता, सुरेश पाण्डेय, राकेश साह  रहेका छन् ।

त्यस्तै बिहानबाट प्रहरीले शुरु गरेको खोजतलास अभियानको क्रममा राउतका १० जना समर्थकलाई पक्राउ गरेको थियो । सोमबार नगरपालिका चोकमा हुने भनिएको आमसभा बिथोल्न प्रहरीले ब्यापक खोजतलास शुरु गरेर राउत तथा उनका समर्थकलाई पक्राउ गरिएको हो ।

स्थानीय समर्थकहरुका अनुसार पक्राउ पर्नेमा स्वतन्त्र मधेश गठबन्धनका जिल्ला संयोजक देबेन्द्र ठाकुर, केन्द्रिय उपाध्यक्ष कैलाश महतो, सप्तरीका सुरेन्द्र मधेशी,मनोज यादव, धनुषा संयोजक नागेन्द्र मण्डल, बारा संयोजक जेपी यादव तथा रंजितराज मधेशीसहितका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले यस सम्बन्धमा कुनै सूचना दिन मानेको छैन । गएराती रिहा भए लगत्तै राउतले जलेश्वरको शंकर चोक सानो सम्बोधन तथा जलेश्वर उद्योग वाणिज्य संघमा समर्थकको प्रश्नहरुको उत्तर दिएका थिए । सोही क्रममा राउतले सोमवार नगरपालिका चोकमा हुने आमसभामा सबैलाई आउन आग्रह गरेका गरेका थिए ।

सुरक्षा स्रोतका अनुसार राउत र उनका समर्थकलाई साँझसम्म मुक्त गरिनेछ । पक्राउ गरिएका राउतका कार्यकर्तामाथि सार्वजनिक अपराध सम्बन्धित मुद्धा चलाउने÷नचलाउने सम्बन्धमा सुरक्षाअधिकारीबीच बहस चलेको बताइएको छ ।


  •  
  •  
  •