नागरिक समाजद्वारा नेताहरुको क्षमतामाथि प्रश्नचिन्ह

393
  •  
  •  
  •  

काठमाडौं, ११ पुस (ओएनएस) : माघ ८ मा संविधान आउने संभावना न्यून बन्दै जादा नागरिक समाजका अगुवाहरुले नेताहरुको क्षमतमाथि प्रश्नचिन्ह खडा भएको जनाएका छन् ।

शुक्रबार १५ जना नागरिक समाजका अगुवाले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनता तथा विश्वसमुदायसामु राजनीतिक दलहरुले वाचा गरेअनुसारको समयमा संघीय लोकतान्त्रिक संविधान आउने संभावना न्यून भएको भन्दै चिन्ता ब्यक्त गरिएको छ ।

विश्व समुदाय नेपालको संविधान आउनेमा ब्यग्र प्रतीक्षामा रहेपनि संविधानसभा तथा जिम्मेवार राजनीतिक दलहरुको हालसम्मको काम, कार्वाही र प्रक्रिया हेर्दा आम नागरिक त्यस दिशातर्फ आश्वस्त हुन सक्ने अवस्था नभएको भनि प्रेस विज्ञप्तिमा लेखिएको छ ।

साथै विज्ञप्तिमा संविधानसभालाई नै ओझेलमा पर्नेगरि नेतृत्ववर्गको अतिकेन्द्रिकृत, अपारदर्शी, अप्रजातान्त्रिक र निष्कर्षविहिन छलफलले हाम्रो राष्ट्रिय क्षमतामाथि नै प्रश्नचिन्ह खडा गरेको भनिएको छ ।

नागरिक सामाजले आमजनताको भावनामा थप चोट पुग्न नदिन आफ्नो जिम्मेवारी पुरा गर्न सम्बन्धित पक्षको ध्यान आकर्षण गराएका छन् ।

विज्ञप्तिमा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदिश चन्द्र पोखरेल, कविन्द्र राज शर्मा, कपिल श्रेष्ठ, बाबूराम गिरि, वीरेन्द्र मिश्र, चरण प्रसाई, हरि बहादुर बोहोरा, दमन नाथ ढुंगाना, अजयभद्र खनाल, विजयकान्त कर्ण, दुर्गा सोव, शर्मिला कार्की, डा सुन्दरमणि दिक्षित र रामेश्वर उपाध्यायले हस्ताक्षर गरेका छन् ।

Nagarik samaj


  •  
  •  
  •