नागरिक लागानी कोषले बोनस सेयर र नगद लाभांश वितरण गर्ने

505
  •  
  •  
  •  

काठमाडौँ, १ साउन । नागरिक लगानी कोषले आर्थिक वर्ष २०६९÷७० को खुद नाफा र त्यसभन्दा अघिल्लो वर्षको बाँडफाँड गर्न बाँकी मुनाफाबाट बोनस सेयर र नगद लाभांश वितरण गर्ने भएको छ ।

कोषका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुमनप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न १९औँ वार्षिक साधारणसभाले उक्त मुनाफाबाट तीन करोड ८६ लाख ४५ हजार रुपैयाँ साधारण जगेडामा राखी बाँकी ५० प्रतिशत बोनस सेयर र २.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०६९÷७० मा करपछिको खुद नाफा १९ करोड ३२ लाख २६ हजार र आव २०६८÷६९ को बाँडफाँड गर्न बाँकी मुनाफा ६ करोड २६ लाख ८२ हजार रुपैयाँसमेत गरी बाँडफाँड योग्य रकम २५ करोड ५९ लाख आठ हजार रुपैयाँ कोषमा रहेको जनाइएको छ ।

साधारणसभाले कोषको मुद्दती निक्षेपमा केन्द्रित रहेको लगानीलाई ४० प्रतिशतमा सीमित गरी कुल लगानीको अधिकतम हिस्सा ऊर्जा तथा पूर्वाधार विकासमा लगाउने निर्णयसमेत गरेको छ ।
कोषले आफ्नो लगानीलाई उद्योग, स्वास्थ्य, शिक्षण तथा पर्यटनको क्षेत्रमा क्रमशः विस्तार गर्दै लैजाने नीति लिएको छ । कोषले उपत्यका बाहिर पनि शाखा विस्तार गर्ने र इन्टरनेटबाट व्यक्तिगत हिसाब हेर्ने व्यवस्था मिलाउने भएको छ ।

कोषले आर्थिक वर्ष २०७०÷७१ को चैत मसान्तसम्ममा ९३ करोड ५४ लाख रुपैयाँको साधारण तथा हकप्रद सेयर निष्कासन गरिसकेको छ भने पुँजी बजार सेवालाई विस्तार गर्न सहायक कम्पनी खडा गरी बजार निर्माताको काम गर्ने तयारी गरेको जनाएको छ ।


  •  
  •  
  •