काठमाडौं, ३१ जेठ (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेल चोरीको विषयमा गोप्य अनुसन्धान सुरु गरेको छ । नेपाल तेल भित्रीने मुख्य डिपो र मुख्य नाकामा छड्केसहित गोप्य रुपमा अनुसन्धान सुरु गरेको हो ।
शनिबार आकस्मिक रुपमा गरेको अनुगमनबाट आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर र डिपोका कागजात शनिबार नियन्त्रणमा लिएको छ । शुक्रबार विराननगर पुगेको टोलीले शनिबार आकस्मिक अनुगमन गरेको हो ।
आयोगका प्रवक्ता श्रीधर सापकोटाले अख्तियारको छुट्टाछुट्टै टोलीले आयल निगमको तेल विक्री वितरण र गुणस्तरका विषयमा अनुगमन गरिरहेको जानकारी दिए । केही ठाउँमा तेलमा अनियमितता भएको आशंकामा गोप्य छानविन भइरहेको पनि उनले बताए ।
पूर्वाञ्चल क्षेत्रीय कार्यालयबाट तेल बिक्रि वितरणमा अनियमिता भएको आशंकामा शनिबार अख्तियारको टोलीले केही कागजात नियन्त्रणमा लिएको छ । आयोगको टोली बाराको अमलेखगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा पनि पुगेको आयोग स्रोतले जनाएको छ ।
विराटनगरमा आयोगको टोलीले भारतबाट तेल लोड गरि आएका १७ ट्याङ्करको छड्के जाँच गरेको थियो । टोलीले आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय र डिपोमा पेट्रोलियम पदार्थको तापक्रम लस, पेट्रोलियम पदार्थको भण्डारण अवस्था, गुणस्तर, नापतौल मेसिनको अवस्थाका वारेमा सोधपुछ गरेको छ ।
केही चालकको अनुमतिपत्र नभएको हुजसक्ने भन्दै स्थानिय प्रहरीलाई अनुगमन गर्न निर्देशन दिएको छ । निगमका पूर्वाञ्चल प्रमुख सीताराम पोखरेलले आवश्यक सोधपुछ गरेको तर अरु कागजपत्र नियन्त्रणमा नलिएको बताए । ‘केही कागजपत्र अख्तियारको टोलीले हरेर जाँचबुझ गरेको छ’ उनले भने, ‘अरु अनियमितता देखिएको छैन ।’