आयुक्तमा यी तीन जनाले बाजी मार्दै

136
  •  
  •  
  •  

काठमाडौं, ३० असोज (ओएनएस) :अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख तीनदलबीच भागबण्डा मिलेपछि तीन जना आयुक्तको नामको टुङ्गो लागेको छ । पार्टीभित्रका प्रतिस्पर्धी विभिन्न उमेरद्वारलाई उछिन्दै तीन जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने निश्चित जस्तै भएको छ । दलभित्रका विभिन्न तहका नेतालाई खुशी पार्दै नेपाली कांग्रेसबाट उमेश मैनाली, एमालेबाट केवशप्रसाद भट्टराई र एमाओवादीबाट अशोक श्रेष्ठले अख्तियार आयुक्तमा बाजी मार्न लागेका हुन् ।
कांग्रेस एमालेले भने दुई दुई जनाको नाम प्रस्ताव गरेका छन् ।

कांग्रेसबाट मैनाली र बद्रीबहादुर कार्की, एमालेबाट भट्टराई र सनतकुमार बस्नेतको नाम अघि सारिएको छ । स्रोतका अनुसार कांग्रेसबाट भने पुर्व गृहसचिव समेत रहेका मैनालीको नाम पक्का जस्तै भएको छ । मैनालीको पक्षमा महामन्त्री कृष्ण सिटौलाले वकालत गरेको स्रोतले बतायो । कांग्रेसका तर्फबाट पुर्वमहान्यायाधीवक्ता बद्रीबहादुर कार्कीको नामपनि चर्चामा आएको थियो । तर, महामन्त्री सिटौलाले मैनालीको पक्ष लिएपछि कांग्रेसकोतर्फबाट मैनालीको नाम पक्का जस्तै भएको हो ।अर्थमन्त्री रामशरण महत भने अझै पनि कार्कीको पक्षमा अडान राखिरहेका छन् । ‘पछिल्लो समय भ्रष्टाचार नियन्त्रणमा अख्तियारले महत्वपुर्ण भूमिका निर्वाह गरेपछि शक्तिशाली बन्दै गएको अख्तियारमा सबैका आँखा परेका छन, आयुक्तमा नाम चर्चामा आएका एक सदस्यले भने,‘नेताहरुलाई कसले खुशी पार्छ भन्नेमा पनि भर पर्छ ।’

एमालेमा वरिष्ठ नेता झलनाथ खनालले सशस्त्र प्रहरी पुर्व महानिरीक्षक सनतकुमार बस्नेतको नाम प्रस्ताव गरेका थिए । तर अध्यक्ष केपी ओलीले अख्तियारका पुर्व सचिव केशवप्रसाद भट्टराईको नाम अघि सारेका छन् । स्रोतका अनुसार अध्यक्षले प्रस्ताव गरेको भट्टराईको नाम पक्का जस्तै भएको छ । एमाओवादीले भने पुर्व डिआईजी अशोक श्रेष्ठको मात्र नाम तय गरेका कारण श्रेष्ठको संभावना बलियो रहेको स्रोतको दाबी छ ।

ती सदस्यका अनुसार संविधानका विवादित विषयमा सहमति नभए पनि अख्तियारको रिक्त पदमा नियुक्ती गर्ने विषयमा प्रमुख तीन दलबीच सहमति हुनुले पनि त्यही कुराको संकेत गर्छ । अख्तियारमा विगत ६ वर्षदेखि तीन आयुक्त पद रिक्त रहेका छन् । एक वर्षअगाडि गत बैशाख २२ मा अख्तियारको प्रमुखमा लोकमानसिंह कार्की नियुक्त भएका थिए । कार्कीसँगै आयुक्तमा केशव बडाललाई नियुक्त गरिएको थियो।  आगामी संवैधानिक परिषदको बैठकले आयुक्तको नाममा टुङ्गो लगाउने छ ।


  •  
  •  
  •