अख्तियारको लुम्बिनी सम्पर्क कार्यालयमा ६ महिनामा ६ सय उजुरी

145
  •  
  •  
  •  

CAAIरुपन्देही, १७ पुस (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको लुम्बिनी अञ्चल सम्पर्क कार्यालयले भ्रष्टाचारी पक्राउ अभियान तीब्र पारेसँगै कार्यालयमा भ्रष्टाचारबिरुद्धका उजुरीको ओइरो लाग्न थालेको छ ।

कार्यालय प्रमुख निराजन घिमिरेका अनुसार २०७० माघमा स्थापित कार्यालयमा गत साउन महिनादेखि उजुरीको ओइरो लाग्न थालेको हो । साउनअघि ९० वटा उजुरी प्राप्त भएका थिए ।

अहिले कुल उजुरी संख्या ६ सय पुगेको छ । उजुरीहरु सबैभन्दा बढी रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाबाट प्राप्त भएका छन् । क्षेत्रगत रुपमा शिक्षा, स्वास्थ्य र स्थानिय निकायका विकास योजना सम्वन्धि बढी छन् । गुल्मी र अर्घाखाँचीबाट पनि विकास योजनामा भएका अनियमितता सम्वन्धमा बढी उजुरी परेका छन् ।

कार्यालयले गत अढाई महिनामा ६ जना सरकारी कर्मचारीलाई घुसको रकम सहित पक्राउ गरी मुद्धा चलाउने प्रक्रिया अघि बढाएको छ । १८ वटा मुद्धामा अनुसन्धान अधिकृत तोकी अनुसन्धान भईरहेको छ ।

कार्यालयले पछिल्लो पटक गत राष्ट्रिय अनुसन्धान विभाग रुपन्देहीका सूचक विष्णुप्रसाद भुर्तेललाई रङ्गेहात पक्राउ गरेको छ । भारतीय सिमावर्ती बजार सुनौलीबाट दैनिक उपभोग्य सामग्री ओसारपसार गर्ने पोके व्यापारीसँग रु.६ हजार घुस स्वरुप रकम असुली गर्ने क्रममा भूर्तेल पक्राउ परेका थिए ।

घुससहित पक्राउ परेका ६ कर्मचारीमा रुपन्देही नापी कार्यालयका सर्वेक्षक राजेन्द्रलाल श्रीवास्तव र जाकीर राईन, विद्युत कार्यालय नवलपरासीका सुपरभाइजर दिनेश श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका नायव निरिक्षक(सई) पूर्ण बहादुर केसी, रुपन्देहीको मानमटेरिया कार्यालयका खरिदार शिव प्रसाद उपाध्याय हुन् ।

उनीहरुले न्यूनतम रु.१ हजार ५ सय देखि अधिकतम १० हजारसम्म घुस लिएको प्रमाण छ । गत असोज २४ गते यता विभिन्न मितिमा उनीहरु पक्राउ परेका हुन् । यस वाहेक नापी र मालपोत कार्यालयमा विचौलीयाको रुपमा काम गर्ने केही लेखनदासहरुलाई पनि पक्राउ गरि सामान्य नसिहत दिने काम पनि भएको कार्यालय प्रमुख घिमिरेले बताए ।

कार्यालयले आफूसँग अभिलेख भएको नोटको विटो र जासुसी क्यामेरा उपलब्ध गराई कार्यकर्ताहरु खटाएपछि यो अभियानले राम्रो परिणाम दिएको अनुभव समेत घिमिरेले बताए ।


  •  
  •  
  •