लेखापालविरुद्ध ५ करोड १० लाखको भ्रष्टाचार मुद्दा

472
  •  
  •  
  •  

काठमाडौँ, २४ वैशाख (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोसीका लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको दाबीसहित अख्तियारले विशेष अदालतमा अधिकारीविरुद्ध ५ करोड १० लाख ३३ हजार ६ सय २३ बराबरको बिगोदाबी गरेर मुद्दा दायर गरेको हो।

आयोगका अनुसार लेखापाल अधिकारीको आयव्यय तथा सिर्जित सम्पत्ति उपर विश्लेषण गरी हेर्दा निजले तलबभत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री, नगद अंश भर्पाई, कर्जालगायतबाट जम्मा ८८ लाख ३४ हजार ८८५ आय आर्जन गरेको देखिन्छ ।

अधिकारीले आफू र आफ्ना आफन्तको नाममा खरीद गरी राखेको एवं लगानी गरेको चल÷अचल सम्पत्ति जग्गा खरीद, घर निर्माण, सवारी साधन खरीद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दातलगायतमा रु पाँच करोड ९८ लाख ६८ हजार ५०८ खर्च तथा लगानी गरेको पाइएको छ । त्यसमा रु पाँच करोड १० लाख ३३ हजार ६२३ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ ।

आयोगको अनुसन्धानमा सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएकाले वैध आयको तुलनामा स्रोत खुल्न नसकेको सम्पत्ति बढी रहेको पाइएको छ । आयोगले अधिकारीका श्रीमती र मामा नाताका बलराम शर्मासमेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालले जानकारी दिए ।


  •  
  •  
  •