चुरे क्षेत्रको संरक्षणको जिम्मा समुदायलाई दिन महासंघको आग्रह

618
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन(ओएनएस) : सामुदायिक बन उपभोक्ता महासंघ नेपालले चुरे क्षेत्रको संरक्षण र व्यवस्थापनको जिम्मा समुदायलाई नै दिन आग्रह गरेको छ ।

महासंघले बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलाई भेटेर ज्ञापनपत्र समेत बुझाएको छ ।
सेना परिचालन गरेर चुरेको दोहन नरोकिने भन्दै महासंघको एक प्रतिनिधी मण्डलले ज्ञापनपत्र बुझाएको हो ।

चुरे क्षेत्रमा नै पाँच हजार भन्दाबढी सामुदायिक बन उपभोक्ता समूह क्रियाशिल रहेको अवस्थामा उनीहरु नै चुरे संरक्षण गर्न सक्षम रहेको ज्ञापनपत्रमा उल्लेख छ । चुरे बन विनास र दोहन सामुदायिक बनको क्षेत्रमा नभएको महासंघको ठहर रहेको छ ।

त्यस्ता केहि संवेदनशिल क्षेत्र भए स्थानीय सरकार, जनता र समुदाय मिलेर संरक्षण गर्न सक्ने महासंघले बताएको छ ।

चुरेलाई उत्पादनसँग कसरी जोडन सकिन्छ भन्ने विषयमा सरोकारवालासँगै छलफल गरेर अगाडि बढ्न सकेको खण्डमा चुरे संरक्षणमा सहयोग पुग्ने ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले प्रतिनिधी मण्डलसँग जनतालाई बाइपास गरेर जाने मनशाय नभएको बताए ।

पोखरेलले चुरे संरक्षणका सन्दर्भमा कसरी जाने भन्ने विषयमा सरोकारवालासँग वृहत्तर छलफल गरेरै जाने बताएको सामुदायिक बन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकले जानकारी दिइन् ।

चुरे क्षेत्रको संरक्षणको जिम्मा सेनालाई दिने विषय समुदायलाई निरुत्साहित गर्ने गरी ल्याइएको विषय भएको ठहर महासंघको रहेको पाठकको भनाइ छ ।

बनमा आश्रित समुदायले मात्र बनको संरक्षण गर्न सक्ने महासंघको धारणा रहेको उक्त ज्ञापन पत्रमा उल्लेख छ ।

यस्तै सोहि ज्ञापनपत्र बोधार्थका रुपमा बन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई समेत बुझाइएको अध्यक्ष पाठकले बताइन् ।


  •  
  •  
  •