चुरे वातावरण संरक्षण क्षेत्र घोषणाको विरोधमा ऐक्यबद्धता

213
  •  
  •  
  •  

chure forestभक्तपुर, २९ चैत(ओएनएस) : सामुदायीक वन उपभोक्ता महासंघ भक्तपुरले चुरे वातावरण संरक्षण क्षेत्रको विरोधमा ऐक्यबद्धता जनाएको छ । सरकारले ३६ वटा जिल्लालाई स्थानीयको राय नलिई चुरे वातावरण संरक्षण क्षेत्र घोषणा गरेको भन्दै विरोध जनाएको हो ।

वन उपभोक्ता महासंघ केन्द्रीय महासचिव भारती पाठकले स्थानीयको स्वामित्वमा रहेको सामुदायीक वनलाई सरकारले जर्वजस्ती आफ्नो नियन्त्रणमा लिएर कब्जा गर्ने कार्य जायज नभएको बताइन् । सर्वसाधारणले सदियौँदेखि संरक्षण गर्दै आएको वनलाई स्थानीयबाट खोस्दा उठीबासको अवस्था आइरहेको भन्दै तत्काल सरकारी निर्णय फिर्ता हुनुपर्नेमा जोड दिइन् । वन अधिकृतको स्वीकृतबिना स्थानीयले केहि गर्न नपाइने नियमले गरिब, निमुखा वर्ग उठिबासको स्थिति आएको उनको भनाइ छ ।

वन उपभोक्ता महासंघ भक्तपुरका अध्यक्ष रामेश्वर बोहोराले सरकारले चुरे क्षेत्र संरक्षणको नाममा जनतालाई सास्ती दिइरहेको बताए । सरकारले स्थानीयको स्वामित्व खोस्दा वन जंगल मासिने क्रम बढ्दै गइरहेको भन्दै ३६ जिल्लालाई घोषणा गरिएको चुरे वातावरण संरक्षणले ५० लाखभन्दा बढी सर्वसाधारण प्रत्यक्ष मारमा परिररहेको बताए ।

भेलामा सामुदायीक वन उपभोक्ता महासंघका उपाध्यक्ष विश्वराम थापा र कोषाध्यक्ष अञ्जना नेपाली, तौडोलछाप सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दिपेन्द्रकुमार थापा, सूर्यविनायक सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हरिशरण बस्नेत, सेतीदेवी सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष ज्ञानेन्द्र थापालगायतले सदियौदेखि सर्वसाधारणको दैनिक चल्दै आएको सामुदायीक वन स्वामित्व खोसिँदा वन संरक्षण हुन नसक्ने बताएका थिए ।


  •  
  •  
  •