भारतीय लोकसभा चुनाव शुरु

419
  •  
  •  
  •  

काठमाडौं, २८ चैत(ओएनएस) :  विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यासको उत्सव अर्थात भारतीय लोकसभा चुनाव आजदेखि शुरु भएको छ ।

सात चरणमा हुने चुनावको पहिलो चरण अन्तरगत आज ५ सय ४३ क्षेत्रमध्ये २० राज्यका ९१ क्षेत्रमा मतदान हुँदैछ ।

आज मतदान हुने ९१ क्षेत्रमा प्रचार प्रसार बन्द भएको छ ।  आजको निर्वाचनमा दक्षिणी राज्य आन्ध्रप्रदेश र केही वर्षअघि त्यसबाट चोइटिएर तेलंगनाका सबै अर्थात क्रमशः २५ र १७ क्षेत्रमा मतदान हुने छन् ।

निर्वाचन क्षेत्रका हिसाबले सबभन्दा ठूलो प्रान्त उत्तर प्रदेशका ८० मध्ये ८ क्षेत्र, बिहारमा चार, महाराष्ट्रमा सात, पश्चिम बंगालमा दुई, उडिसामा चार, असममा पाँच, उत्तराखण्डका सबै पाँच, छत्तिसगढमा एक, जम्मू–कश्मीरमा दुई तथा अरुणाञ्चल प्रदेशका दुई क्षेत्रमा मतदान हुनेछ ।

चुनावमा ९० करोड भन्दा बढि मतदाताले ५४३ लोकसभा सिटका लागि मतदान गर्दैछन् ।
भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढि हो ।

भारत सन् १९४७ मा बेलातबाट स्वतन्त्र भएपछि पहिलो पटक सन् १९५१–५२ मा चुनाव भएको पाइन्छ ।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले २०१४ को निर्वाचनमा ३५ प्रतिशत सिटमा कब्जा जमाएको थियो । यसैगरी कांग्रेसले ८ प्रतिशत सिटमा जीत हात पारेको थियो ।
उत्तर प्रदेश, महाराष्ट्र, छत्तीसगढ, विहार, असम, उत्तराखण्ड, अरुणाचल र जम्मू कश्मीरमा भाजपा र कांग्रेसको प्रभाव बलियो छ ।

यसैगरी अन्य क्षेत्रीय दलहरुको पकड रहेका राज्यमा आन्ध्रप्रदेश, तेलंगना, मेघालय, सिक्किम, मिजोरम, नागाल्याण्ड, लक्ष्यदीप, अंडमान निकोबार, उडिसा, पश्चिम बंगाल, मणिपुर र त्रिपुरा हुन् ।

९१ सिटमा भएको निर्वाचनमा सन् २००९ मा भाजपाले जम्मा ७ सिट जितेको थियो भने कांग्रेसको पोल्टामा ५५ सिट परेको थियो । तर २०१४ मा भारतमा मोदी लहर आएपछि अंकगणित पुरै बदलिएको थियो ।

भाजपाले ३२ सिट जित्दा कांग्रेस ७ सिट मात्र जीतेको थियो ।  तेलुगुदेशम पार्टी (तेदेपा) ले १६ तथा तेलांगना राष्ट्र समिति (टीआरएस) ले ११ सिट जित्न सफल भएको थियो ।
वाईएसआरसीपीले ९ सिट जित्दा तृणमूल कांग्रेसले २ तथा अन्यले १४ सिटमा बाजी मारेका थिए ।

 

लोकसभा निर्वाचनको घोषणा मार्च १० तारिखमा गरिएको थियो ।  कांग्रेस अध्यक्ष राहुल गान्धीले भोली पल्टैदेखि चुनावी र्याली शुरु गरेका थिए भने प्रधानमन्त्री नरेन्द्र मोदीले २० मार्चदेखि अभियान शुरु गरेका थिए ।

चुनावी प्रचार प्रसारको अन्तिम दिन मंगलबारसम्म मोदीले ३० वटा र्र्याली गर्दा गान्धीले ३९ वटा र्याली पुर्याएका थिए ।

यो चुनावमा जुन पार्टीले जित्छ उसले आगामी पाँच वर्ष विश्वको ठूलो प्रजातान्त्रिक देशको नेतृत्व सम्हाल्ने छ । यसलाई अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको समीक्षाका रुपमा पनि लिइएको छ ।

किसानका समस्या, गरिबी र बेरोजगारी भारतको सबैभन्दा ठूलो चुनौति हो र अहिलेको चुनावी मुद्दा पनि त्यहि बनेको छ । तर नरेन्द्र मोदीको भाजपाले राष्ट्रियताको मुद्दालाई प्रमुख बनाएको छ ।


  •  
  •  
  •