चोरीमा चिचिला

139
  •  
  •  
  •  

काठमाडौं २७ मंसिर।
शुक्रबार साँझ साढे ६ बजे । मध्य बानेश्वर क्षेत्रमा एउटा ९/१० बर्षको देखिने बालक खानेपानी पाइपको बन्डल गुडाउँदै लगिरहेको थियो ।

मिलन चोकस्थित अस्थायी प्रहरी चौकीमा बसेका असई सदानन्द यादबलाई त्यो दृश्य नौलोमात्रै होइन, शंकास्पद पनि लाग्यो । उनले हेर्दा हेर्दै त्यो पाइप बोकेको केटो घरभित्र छिर्‍यो । पछि पछि दुई साना बच्चा पनि छिरे । भित्रबाट हत्तपत ढोका लगाए ।

यादवसहित प्रहरी टोली पछयाउँदै गयो । भित्र छिर्न खोज्दा घरकी महिलाले छेक्न खोजिन् । ‘घरमा कोही छैन, केही छैन,’ उनले भनिन् ।

‘बच्चाले पाइप कहाँबाट ल्याएको हो भन्नूस्,’ प्रहरीले सोध्यो ।

‘प्लिज, मेरो घर खानतलासी नगर्नूस्, मधेसी भएर मधेसीको हित चिताउनुपर्छ,’ उनले भनिन्, ‘बरु म पचास हजार रुपैंयाँ तिर्न तयार छु ।’

रौतहटको तेतरीया- २ घर भएका ४० बषिर्य सुरेन्द्र ठाकुरले आफ्ना ४ छोरा र श्रीमती समेतलाई राखेर चोरी गर्न लगाउने गरेको रहेछन् । प्रहरी छानबिनबाट खुल्यो । ठूलो छोरो नन्दकिशोर १८ बर्षको छ । बाँकी सबै १० बर्ष भन्दा कम उमेरका छन् । ओठ निचोर्दा दूध झर्लाजस्ता ती चिचिलासमेत चोरीचकारीमा अभ्यस्त भइसकेका रहेछन् ।

चौकीका प्रहरीले तीनकुने स्थित वृत्तका प्रहरीलाई खबर गरे । घर भित्र प्रहरी पस्दा त छक्कै परे । ‘चोरी गरेर राखिएका सामानले घर भरिएको रहेछ’ महानगरीय प्रहरी बृत नयाँ बानेश्वरका नायब उपरिक्षक रमेश तामाङले भने ‘लसुन देखी सुन सम्म चोरेर थुपार्ने गरेको रहेछ ।’

हुन पनि प्रहरीले त्यो तीन तले सेतो रङको घरबाट बरामद गरेको सामानको सुची हेर्दा यस्तै लाग्थ्यो । प्रयोगमा आईसकेको साबुन, स्याम्पु, कण्डिसनर देखी ल्यापटप र सुनका गरगहना समेत चोरी गरेर थुपारेका छन् । यस्तै मन्दिरमा पुजा गर्ने थाली, घण्टी, गाग्री देखी अन्य सामागि्रहरु लामै सुची छ ।

चोरिएका सामग्रीको सूचीमा के छैन ! उनीहरुको घरबाट प्रहरीले बरामद गरेको सामाग्री सिसि क्यामरा देखी, पेनड्राईभको थुप्रो, महङगो मुल्य पर्ने माउन्टेन बाईक दुई वटा, पानी तान्ने सर्वो मेसिन, एक दर्जन भन्दा बढि बिभिन्न कम्पनीका क्यामरा, मोबाईल लगायत छन् । यस्तै पुजा गर्ने तामाको थाली, तामाको कलस, हुफर लगायतका सामाग्री छन् ।

उनीहरुको ३ वटा कोठामा खाँदे झै गरेर राखिएका बिलासीका सामानहरु आवश्यकता भएर खरिद गरेको उनीहरुको दाबी छ । ‘अरु सामान त आवश्यक भयो रे , सिसि क्यामरा कहाँ जोडनलाई चाहियो’ डिएसपी तामाङले भने ‘जे भेट्यो त्यहि उठाएर घरमा ल्याउने र मौका मिलाएर बिक्रि गर्ने गरेको देखियो ।’ सिलिण्डर ग्याँस चुल्होको पाईपको ठुलै मुठो छ । ठाकुरका अनुसार त्यो चाँही तराईमा घर बनाउन किनेको हो रे ।

यसरी चोरीएका सामानहरु झण्डै एक सय प्रकारका छन् । पक्राउपछि प्रहरी हिरासतमा रहेका सुरेन्द्रले बच्चाहरुले सामान चोरेर ल्याएको भन्दै पन्सिने प्रयास गरिरहेका थिए । प्रहरीले सुरेन्द्र र नन्दकिशोरलाई हिरासतमा राखेको छ । नन्दकिशोर दुई बर्षअघि सशस्त्र प्रहरी बलमा कपाल काट्ने नाउको जागिरमा नाम निकालेका थिए । एक महिना तालिम पनि गरे । तालिम सकिएपछि जागिर नखाई हिडें ।

डिएसपी तामाङका अनुसार चोरी गर्नु यिनीहरुको पेशा हो । ठाकुर परिवारले आफ्ना साना ६, ८ र १० बर्षका छोराहरुलाई चोरी गर्न पठाउने गरेका थिए । चोरिएका थुप्रै सामग्री बिक्री गरेको प्रहरीको भनाई छ ।
कान्तिपुरबाट


  •  
  •  
  •