‘छोरी बचाऊ’ अभियान चाहिन्न

सन्दर्भः अन्तर्राष्ट्रिय महिला दिवस
108
  •  
  •  
  •  

डा.अरुणा उप्रेती

आज नारी दिवसको बेला भन्छु

‘छोरी बचाऊ’ अभियान चाहिन्न

‘छोरी बचाउ अभियान’ बडो राम्रो कार्यक्रम रहेछ । यसले मानिसलाई छोरीलाई जन्म दिन प्रेरित गर्नेछ ।’ केही नेताले यसो भनेको सुन्दा रोउँ कि हासुँ हुन्छ । यो अभियान मलाई जंगलमा ‘बाघ र गैंडा बचाउँ’ अभियान थालनी गरे जस्तो लाग्न थालेको छ ।

‘दाइजो दिनुपर्ने भएकाले छोरी भएमै गर्भमै पहिचान गरी पतन गराउँछन् । छोरीले आमाबुबाको काजकिरिया गर्न सक्दैनन्, त्यसैले छोरीको सहारा हुँदैन, छोराको चाहिन्छ’ भन्ने जस्ता तर्क समाजमा अनेक सुनिन्छन् । त्यसैले छोरी जन्मँदै २० हजार रुपैयाँ राखी उनको नाममा खाता खोलीदियो भने आमाबाबुले छोरी बचाउने प्ररेणा लिनेछन् भन्नेजस्ता (कु)तर्क दिएर नेताहरू लोकप्रिय हुन खोजेका छन् । सामाजिक, सांस्कृतिक, कानुनी र धार्मिक संस्कार परिवर्तन नगरेर उनीहरू किन ‘छोरी बचाऊ’ जस्तो हास्यास्पद अभियान चलाउन अघि सरे होलान् ? बुझिनसक्नु छ । भारतको उदाहरण हेरेरै नेताहरूले बुझ्नुपर्ने थियो– यसरी पैसा दिएर गरिने ‘छोरी बचाऊ’ अभियान काम लाग्दैन ।
गरिबीको कारणले मानिसहरूले लिंग पहिचान गरेर छोरीको गर्भपतन गराउँदैनन् भन्ने हेक्का नेताहरूलाई किन नभएको होला ? भ्रूणको लिंग पहिचान गरेर गर्भपतन गराउने काम प्राय: मध्यमवर्गीय र उच्च मध्यमवर्गीयले गर्छन्, किनभने उनीहरू आफ्नो ‘अंश र वंशको रक्षा’ गर्नुपर्छ भन्ने धार्मिक भावनाले पीडित हुन्छन् ।
भारतको धनी र शिक्षित राज्य गुजरातमा समेत छोराहरूको तुलनामा छोरीहरूको जन्म अनुपात कम छ । ती ठाउँमा मानिस धनी छन्, शिक्षित छन्, भारत सरकारको ‘बेटी बचाओ’ अभियानको लागि दिएको २ हजार भारुको उनीहरूलाई केही वास्तै हुँदैन । आफ्नो संस्कृतिप्रति गर्व गर्ने जाट समुदाय बस्ने हरियाणामा पनि छोरीहरू गर्भमै फ्यालिन्छन् ।
दिल्ली र महाराष्ट्र जस्ता शिक्षित ठाउँमा पनि छोरीहरू छन् भने गर्भपतन गरिन्छ । भारतको ‘बेटी बचाऊ’ अभियान पूर्णत: असफल भएको छ । त्यस्तै अभियान नेपालमा पनि लागु गर्न खोज्दा कसरी सफल होला, नेताज्यू ?

दिगो सामाजिक विकास, धार्मिक संस्कारमा परिवर्तन, कानुनी परिवर्तन नगरी सञ्चालन गरिएका यस्ता अभियानको कुनै काम छैन । भारतमा कतिजना डाक्टरको त रोजीरोटी नै भ्रूण पहिचान गरेर, गर्भपतन गराएबाट चल्छ । भ्रूणको लिङ्ग पहिचान गर्न हुँदैन भन्ने कानुन त पुरानो टालो जस्तोगरी फालिएको छ । भ्रूण पहिचान गर्दा डाक्टरहरूले मुखले केही भन्दैनन्, तर छोरा भए ठिक र छोरी भए गलत भन्ने संकेत गर्छन् । आमाबाबुले कुरा बुझिहाल्छन् र गर्भ राख्ने वा हटाउने सल्लाह सुरु गरिहाल्छन् ।

भारतमा जस्तै नेपालमा पनि त्यही चलन छ । तीन वर्षअघि नेपालमा विभिन्न अस्पतालमा गएर ६ महिनाको तथ्यांक हेर्दा मैले के पाएँ भने हरेक प्रसूति गृहमा छोराको जन्म बढी भएको छ । नेपालगन्जको एक अस्पतालमा एकजना स्त्रीरोग विषेषज्ञले भनेको सुनियो, ‘यही अस्पतालमा कार्यरत डाक्टर र नर्स त लिंग पहिचान गराउँछन् तर यहाँ गर्भपतन गराउँदैनन् । उनीहरू कि भारत कि निजी क्लिनिकमा गएर गर्भपतन गराउँछन् र गर्भ तुहियो भनी केही दिन छुट्टी लिन्छन् ।’

त्यसैले यहाँ तबसम्म ‘छोरी बचाऊ’ अभियान काम लाग्दैन जबसम्म महापुराण भन्ने धार्मिक गुरुले छोरीको पनि अधिकारबारे बोल्न सुरु गर्दैनन् । जबसम्म सरकारी कर्मचारीले संविधानअनुसार आफ्ना सन्तानलाई नागरिकता दिन पाउने महिला अधिकारको रक्षा गर्दैनन् ।

जबसम्म राजनीतिक नेताहरूले छोरी पाउँदा उदास अनुहार बनाएर बस्न छाड्दैनन् । जबसम्म स्वास्थ्यकर्मीले पनि छोरीको जन्म भए मातापितालाई सानो स्वरमा ‘छोरी भएकी छिन्’ भन्न र छोरा भए ठूलो मुस्कानसहित बधाई दिन छाड्दैनन् । के यस्ता संस्कार नबदलेसम्म ‘छोरी बचाऊ’ अभियान सफल होला ? पटक्कै विश्वास छैन । ‘छोरी बचाऊ’ अभियान होइन, नागरिकसरह संविधानप्रदत्त अधिकार चाहिएको छ ।

डा.उप्रेतीकाे फेसबुकबाट साभार


  •  
  •  
  •