बिहे गरेको ६ वर्षपछि मात्रै बोलचाल भयो

204
  •  
  •  
  •  

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी १६ वर्षदेखि लगातार सांसद छन् । तर, उनको पार्टी सरकारमा कहिल्यै गएन, उनी मन्त्री हुने कुरै भएन । उखानतुक्का मिसाएर आफ्ना भाषण र कुराकानीलाई मिठास दिन केसी माहिर छन् । उनको माउ पार्टी मसालले यसपालि सरकारमा सहभागी हुने निर्णय गर्‍यो र केसी गरिबी निवारण मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री बने । उनका बानी र स्वभावबारे पत्नी पार्वतीलाई नयाँ पत्रिकाका खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन् :

उपप्रधानमन्त्री/सांसद १. सोह्र वर्ष सांसद हुनुभयो, तर मन्त्री बन्नुभएको थिएन ? यसपालि उपप्रधानमन्त्री बन्नुभयो, कत्तिको खुसी लागेको छ ? खुसी त भइहाल्ने भयो । जस्तो सोच्यो, त्यस्तै त हो नि । २. के फरक पाउनुभयो उपप्रधानमन्त्रीकी पत्नी बनेपछि ? के फरक हुनु ? उस्तै हो । सुरुमा मास्टर हुनुहुन्थ्यो, मलाई मास्टर्नी भन्थे । पछि सांसद हुनुभयो, सांसदनी भन्न थाले । अहिले उपप्रधानमन्त्री हुनुभयो, मन्त्राणी भन्छन् ।

३. फेरि पनि केही फरक त आएको होला नि ? साँच्ची भन्नुहुन्छ भने मलाई केही फरक लागेको छैन । मलाई ‘उपप्रधानमन्त्रीकी दुलही भएँ, ठूली नै भइहालेँ’ भन्ने केही लागेको छैन । जोसँग पनि मिल्ने मान्छे हुँ । गोठालासित नि मिल्छु । ४. सरकारी निवासमा डेराको बसाइभन्दा त केही फरक छ होला नि ? हात भाँचिएको छ, पकाउने मान्छे छ । यस्तै सजिलो छ ।

५. उहाँ मन्त्री बन्ने कुरा कहिले थाहा पाउनुभयो ? एक–डेढ हप्ताअघि थाहा पाएकी थिएँ । पत्रिकामा पनि आएपछि सबैले बधाई दिन थाले । मैले ‘ए अहिले केही भएको छैन, भएपछि नै दिनु’ भन्थेँ । ६. कसले भनेर थाहा पाउनुभयो ? फोनमा कुरा गरेको नि सुन्थेँ, पार्टीले निर्णय गरेपछि पनि थाहा भयो । ७. उहाँ आफूले चाहिँ भन्नुभएको थिएन ? उहाँले ‘हुने कुराचाहिँ छ, पूरै टुंगो लागेको छैन’ भन्नुभएको थियो ।

८. मन्त्रीको शपथ लिन शीतलनिवास जानुअघि घरमा के भनेर जानुभयो ? ‘लौ अब गएँ त’ भन्नुभयो । छोरा–भतिजाहरूले गाडीमा लिएर गए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकी पत्नी पार्वतीसँग नयाँ पत्रिकाका खगेन्द्र पन्त९. उपप्रधानमन्त्री बनेर घर फर्केपछि के भन्नुभयो ? के भन्नुहुन्थ्यो र ? गलाभरि मालाले भरिएर आउनुभएको थियो । बधाई दिएँ । उहाँले ‘ल यो माला तिम्रै लागि हो’ भनेर मलाई लगाइदिनुभयो ।

१०. बधाई दिनेहरूको भीड कति लाग्यो घरमा ? त्यो दिन त त्यति धेरै भएन । अर्को दिन धेरै आउनुभयो । ११. सरकारी निवास सरेपछि घट्टेकुलोको डेरा छाड्नुभयो कि राख्नुभएको छ ? छाडेका छैनौँ । सामान त्यहीँ छ, यहाँ त कति दिन पो हो ?

१६ वर्ष भयो त्यहाँ बसेको, सुरुमा तीन हजार पाँच सय भाडा थियो । पछि ६ हजार पुग्यो । उपप्रधानमन्त्री भएपछि नौ हजार पुगेको छ । १२. उपप्रधानमन्त्री भएपछि उहाँ आफूचाहिँ कत्तिको खुसी हुनुभएको छ ? केको खुसी हुनु, ‘झन् सकस भयो’ भन्नुहुन्छ ।

१३. किन नि ? कसैले भनेको नटेर्ने, एक्लै हिँड्ने मान्छे । पहिला पनि एउटा गार्ड थियो, त्यसलाई समेत नबताएर हिँड्नुहुन्थ्यो । अब उपप्रधानमन्त्री भएपछि चारैतिर सुरक्षाकर्मी छन् । ओछ्यानमा नछिरेसम्म छाड्दैनन् । अनि, सकस नमानेर के गर्नुहुन्थ्यो र? सुत्ने/उठ्ने १४. कति बजे उठ्नुहुन्छ ? चार बजे उठिसक्नुहुन्छ ।

१५. चिया/कफी के रुचाउनुहुन्छ ? कालो चिया खानुहुन्छ, तर बिहान उठ्नेबित्तिकै पहिला नुनपानी खानुहुन्छ । १६. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ? गर्नुहुन्छ । घरवरिपरि नै हिँडडुल गर्नुहुन्छ । पहिला–पहिला ‘मर्निङवाक’मा निस्कनुहुन्थ्यो । मार्ने धम्की आउन थालेपछि बाहिर जान बन्द गर्नुभयो ।

१७. कस्तो धम्की नि ? विदेशको नम्बरबाट ‘संघीयताको विरोध गर्छस्, ज्यानको माया छैन’ भनेर धेरै धम्की आयो । धम्कीले केही नभएपछि ‘कति पैसा चाहिन्छ’सम्म भने । १८. योगा पनि गर्नुहुन्छ ? योगा त गर्नुहुन्न । १९. साँझमा पनि एक्सरसाइज गर्नुहुन्छ कि ? फुर्सद भए पो गर्नु ? राति अबेर त घर पुग्नुहुन्छ । २०. राति कतिखेर सुत्नुहुन्छ ? अबेरै सुत्नुहुन्छ । बिबिसी नसुनी कहिल्यै सुत्नुहुन्न । २१. सुत्नुअघि केही खाने बानी छ ? केही खानुहुन्न ।

२२. घरमा बस्दा कस्ता लुगा लगाउन मन पराउनुहुन्छ ? टी–सर्ट, ट्राउजर, ज्याकेट लगाउनुहुन्छ । पत्रपत्रिका/टेलिभिजन २३. पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ? फुर्सद भएका वेला पत्रपत्रिका त हो पढ्ने । २४. टेलिभिजन कति हेर्नुहुन्छ ? मन्त्री भएपछि त अलि कम हेर्नुभएको छ । पहिला त हेर्नुहुन्थ्यो, घरमा फुर्सद भएको वेला कि पत्रिका पढ्ने, कि टिभी नै हो हेर्ने। २५. आफ्नोबारेमा आएका समाचार हेरेपछि कस्तो प्रतिक्रिया हुन्छ ? खासै केही भन्नुहुन्न । नराम्रा समाचार रहेछन् भने ‘विरोधीले लेखिहाल्छन्’ भन्नुहुन्छ । खाना/खाजा २६. बिहानको खाजामा के लिनुहुन्छ ? बाहिर जानुपर्ने भए तातोपानीमा सातु राखेर खानुहुन्छ । घरमै बस्दा बिहान खाजा खानुहुन्न । २७. खानामा के मन पराउनुहुन्छ ? दालभात तरकारी, कहिले ढिँडो खानुुहुन्छ ।

२८. रातिको खानामा के रुचाउनुहुन्छ ? रोटी खान मन पराउनुहुन्छ । तर, दाँत छैन, चपाउन सक्नुहुन्न । त्यसैले ढिँडो खानुहुन्छ । २९. माछामासु खानुहुन्छ कि खानुहुन्न ? पहिला त खानुहुन्थ्यो । अचेल खानुहुन्न । माछा धेरै मन पराउने हो । दराम खोलामा माछा त कति मार्ने कति ? दुवाली थुनेर र हातैले माछा मार्ने । डोको भरी–भरी माछा ल्याउनुहुन्थ्यो । डाक्टरले माछामासु नखानुस् भनेपछि केही वर्ष भयो, अचेल त खानुहुन्न ।

३०. खानामा कमेन्ट गर्ने बानी कत्तिको छ ? खाना त जस्तो दिए पनि खानुहुन्छ । कुनै गुनासो गर्नुहुन्न । ३१. कहिलेकाहीँ किचेनमा पसेर आफैँ पकाउन रुचाउनुहुन्छ कि हुन्न ? एक गिलास पानी सारेर त खानुहुन्न, खाना के पकाउनुहुन्थ्यो ? किचनमै पस्नुहुन्न । ३२. भनेपछि सबैथोक उहाँका अगाडि पुर्‍याइदिनुपर्छ ? हो । चुठ्न मात्रै जानुहुन्छ किचनमा । ३३. ‘पानी त आफैँ सारेर खानु नि’ भनेर तपार्इं कहिले कराउनुहुन्न ? बानी नै त्यस्तै छ, के कराउनु ?

३४. अचेल मात्रै पकाउन छाड्नुभएको कि पहिल्यैदेखि पकाउनुहुन्थेन ? गाउँमा हुँदा त पकाउनुहुन्थ्यो । म घरखेतको काममा लाग्थेँ । उहाँ पकाउनुहुन्थ्यो । ३५. उहाँले पकाएको तपार्इंले के खानुभएको छ ? भयो होला २४–२५ वर्ष । बहुदल आएदेखि उहाँले पकाउनुभएको छैन । ३६. के–के पकाउन आउँछ उहाँलाई ? दालभात, तरकारी, माछा पकाउनुहुन्थ्यो ।

रेस्टुरेन्ट

३७. तपार्इंलाई कहिलेकाहीँ रेस्टुरेन्टमा लगेर खाना/खाजा खुवाउनुहुन्छ कि हुन्न ? पहिला–पहिला कहिलेकाहीँ जान्थ्यौँ । अचेल त जाँदैनौँ । ३८. अचेल किन जानुहुन्न नि ? मलाई सन्चो पनि छैन, उहाँले पनि माछामासु, रक्सी केही पनि खानुहुन्न । बाहिर गएर खाने धेरै रुचि पनि छैन । ३९. बाहिर खाँदा उहाँले के खान मन पराउनुहुन्छ ? जेरी–पुरी हो, उहाँले मन पराउने ।

फिल्म/गीत–संगीत

४०. सिनेमा हेर्न कत्तिको रुचि छ ? बहिर गएर त हेर्नुहुन्न, टेलिभिजनमा आउँदा कहिलेकाहीँ हेर्नुहुन्छ । ४१. कस्ता सिनेमा रुचाउनुहुन्छ ? नेपाली सिनेमा हेर्नुहुन्छ । ४२. दुईजना सँगै हलमा गएर सिनेमा हेर्नुभएको छ कि छैन ? अचेल त हेरेका छैनौँ । उहिल्यै केटाकेटी नहुँदै एकपल्ट बुटवलमा र एकपल्ट काठमाडौंमा हेरेका थियौँ । ४३. तपाईंले भनेर लैजानुभएको कि आफैँले ‘जाऔँ’ भनेर लग्नुभएको ? ‘सबै जान्छन्, हिँड हामी पनि हेरौँ न’ भन्नुभयो, अनि गयौँ । ४४. कुन सिनेमा हेर्नुभएको थियो, थाहा छ ? नाम त थाहा छैन । ४५. टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ? हेर्नुहुन्छ । हास्यव्यंग्य सिरियल हेर्नुहुन्छ । ४६. गीत कत्तिको सुन्नुहुन्छ ? सुन्नुहुन्छ । फुर्सद भएसम्म गीत आएका वेला सुन्नुहुन्छ । ४७. कस्ता गीत मन पराउनुहुन्छ ? दोहरी एकदमै मन पर्छ ।

४८. आफैँ गाउनु पनि हुन्छ कि ? गाउने त होइन, सुन्नुहुन्छ । परिवारलाई समय ४९. परिवारलाई कत्तिको समय दिनुहुन्छ ? उहाँको समय के हुनु ? परिवारलाई समय उही भात खाने वेला हो । ५०. घरमा बसेका वेला राजनीतिक गफ कति गर्नुहुन्छ ? त्यस्तो त गर्नुहुन्न । खाना खाने वेला राजनीतिक गफ गर्ने बानी छैन । ५१. पार्टीका कुरा तपार्इंलाई कति सुनाउनुहुन्छ ? मलाई त बताउनुहुन्न ।

५२. चित्रबहादुर केसीले आफ्नै छोरालाई पनि जागिर लगाइदिएनन् भनेरसमेत समाचार आए नि ? हो त क्यारे । यही काम खोजिदिएको भए, जागिर लगाइदिएको भए छोराहरू, बुहारी, नाति जापान किन जान्थे र ? ५३. १६ वर्षदेखि सांसद हुनुहुन्छ, कार्यकर्ता पनि आउँदा हुन नि जागिर लगाइदिनुपर्‍यो भनेर ? कोही आउँदैनन् । आफ्नै छोराहरूलाई त जागिर नलगाएपछि अरूलाई कसरी लाइदिनु भन्नुस् त ? जागिर लगाइदिन्छु भनेर अचेल मान्छेले पैसा खान्छन्, उहाँले त्यस्तो लप्पन–छप्पन गर्नुहुन्न, त्यस्तो बानी छैन । ५४. यत्रा वर्ष सांसद हुँदा पैसा जोगाउनुभएको होला नि ? केको पैसा जोगाउनु ? पैसा भएको भए भाडाको घरमा बस्थे र । पार्टी पनि चलाउनुपर्‍यो, आफू पनि बाँच्नुपर्‍यो । बिहे/घरजम ५५. तपार्इंहरूको बिहे कति बर्षको उमेरमा भयो ? २०१२ सालमा बिहे भयो ।

त्यतिखेर म १० वर्षकी थिएँ, उहाँ १४ वर्षको हुनुहुन्थ्यो । ५६. बिहेपछि माइतीमा बस्नुभयो कि घरमै ? कहाँ घर बस्नु नि । चार वर्ष माइतीमै बसेँ । कहिलेकाहीँ आउने–जाने त भइरहन्थ्यो । ५७. तपाईंहरू दुईजनाको बोलचाल हुन्थ्यो कि हुन्थेन ? हुँदैनथ्यो । म माइतीमै बस्थेँ । बिहे गरेको दुई वर्षपछि उहाँ पढ्न काठमाडौं जानुभयो । कहिलेकाहीँ दसैँ–तिहारमा घर आउनुहुन्थ्यो । ५८. त्यतिवेला पनि बोलचाल हुँदैनथ्यो ? सन्चो–बिसन्चो सोध्नुहुन्थेन ? कसरी हुनु ? म बोले पो ।

५९. कतिपछि भयो त बुढाबुढीको बोलचाल ? उहाँ ०१८ सालमा एसएससी पास गरेर फर्किनुभयो । त्यसपछि बल्ल हाम्रो बोलचाल हुन थालेको हो । बिहे गरेको कति ५–६ वर्षपछि मात्रै बोलचाल भयो । लुगा/पहिरन ६०. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ? जस्तो छ, त्यस्तै लगाउनुहुन्छ । ६१. लुगामा आइरन आफैँ गर्नुहुन्छ कि अरूले लगाइदिनुपर्छ ? आफूले लगाउनुहुन्न, लाइदिने मान्छे छैन, अनि के गर्नु ? जस्तो छ, त्यस्तै लगाएर हिँड्नुहुन्छ । ६२. तपाईं गरिदिनुहुन्न ? लगाउँदिनँ मैले त ।

६३. आफ्ना लागि वर्षमा कति जोर लुगा किन्नुहुन्छ ? कहाँको किन्नु नि ? ०५६ सालमा सांसद भएपछि दुई जोर कोट–पाइन्ट हाल्नुभाथ्यो । त्यसपछि अस्ति उपप्रधानमन्त्री बन्ने भएपछि एक जोर कोट–पाइन्ट र एकजोर लबेदा (दौरासुरुवाल)–कोट सिलाउनुभयो । त्यो पनि सुरुमा त लबेदा–कोट सिलाउनुभएको थिएन । छोराभतिजाहरूले वेला–वेला किनिदिन्छन्, साथीभाइले ल्याइदिन्छन् । त्यही लाउने हो । मोजा फाटे त मैले किनिदिनुपर्छ ।

६४. उपप्रधानमन्त्री हुँदा दौरासुरुवाल पछि मात्रै किन सिलाउनुभएको नि ? सुरुमा कोट–पाइन्टमै शपथ खाउँला भनेर सोच्नुभएको थियो क्यारे । पछि कसले हो संसद्मा ‘हैन दौरा–सुरुवाल लगाउनुपर्छ’ भनेछन् । अनि, हतारमा अघिल्लो दिन सिलाउन दिएर भोलिपल्ट लगाएर शपथ खान जानुभएको हो । ६५. राम्रा लुगा लगाएर चिटिक्क परेर हिँड्नुपर्छ भनेर भन्नुहुन्न तपाईंले ? कहिलेकाहीँ भन्न त भन्छु क्यारे । ‘त्योभन्दा यस्तो लुगा लगाएर हिँडे हुने’ भनेर भन्छुु । ६६. अनि, के भन्नुहुन्छ त ? ‘यसको सट्टा त्यो लुगा लगाएर मान्छेले फलानो गयो भन्ने हुन् र ? बरु जस्तो छ, त्यस्तै लगाए भन्ने हुन्’ भन्नुहुन्छ ।

६७. आफ्ना लागि नकिने पनि तपाईंका लागि त लुगा किनिदिनुहुन्छ होला नि ? कसैका लागि पनि किन्नुहुन्न । आफ्ना लुगा मैले आफैँ किन्ने हो ।

तलब

६८. आफ्नो तलब तपार्इंलाई दिनुहुन्छ कि आफैँ राख्नुहुन्छ ? मलाई नै दिनुहुन्छ । ६९. आफूले कति राख्नुहुन्छ ? खर्च डेढ–दुई हजार राख्नुहुन्छ । ७०. उहाँको खर्च केमा हुन्छ ? उही पत्रपत्रिका किन्नमा हुने हो । अरू त खर्च गर्नुहुन्न । ७१. तपार्इंसँग पैसा माग्नुहुन्छ कि हुन्न ? सकिएपछि माग्नुहुन्छ । ७२. कति दिनुहुन्छ तपाईंले ? कहिले हजार, कहिले दुई हजार, कहिले ‘पाँच सय भए पनि पुग्छ’ भन्नुहुन्छ । ७३. पैसाको बारेमा कहिले दुईजनाबीच ठाकठुक पर्छ कि पर्दैन ? पैसाका बारेमा त पर्दैन ।

रिसाउने र खुसी हुने

७४. रिसाउने बानी कति छ ? त्यस्तो धेरै रिसाउने बानी त छैन । ७५. कस्ता कुरामा रिसाउनुहुन्छ ? कस्ता कुरामा भन्नु ? घरायसी कुरामा त हो नि । ७६. रिसाएपछि के गर्नुहुन्छ ? बोल्नुहुन्न । घरबाट निस्किँदा पनि नबोली हिँड्नुहुन्छ । ७७. रिसाएपछि कसले पहिला फकाउँछ ? उहाँ रिसाए पनि, म रिसाए पनि बोल्नु त मैले पर्‍यो नि । खाना दिनुपर्‍यो, के खानुहुन्छ सोध्नुपर्‍यो । उहाँले न खाना दिनुपर्‍यो, न सरसफाइ गर्नुपर्‍यो । नबोले नि भयो ।

७८. तपार्इंलाई कहिल्यै पिट्नुभएको छ कि छैन ? छैन । ७९. माया गरेर तपार्इंलाई के भनेर बोलाउनुहुन्छ ? ‘माइली’ भन्नुहुन्छ । ८०. तपाईंले माया गरेर के भनेर सम्बोधन गर्नुहुन्छ ? (हाँस्दै) मैले के भन्ने हो ? ‘हजुर’ भन्छु । जिद्दी ८१. जिद्दी गर्ने स्वभाव कत्तिको छ ? जिद्दी त गर्नुहुन्न । मैले भनेपछि मान्नुहुन्छ ।

८२. भनेपछि उहाँको भन्दा बढी जिद्दी तपार्इं गर्नुहुन्छ ? (हाँस्दै) सबै कुरा मैले धान्नुपरेपछि उहाँले जिद्दी कसरी गर्न मिल्यो त ? ८३. कस्ता कुरामा खुसी मान्नुहुन्छ ? अब, घटना हेरी–हेरी हुन्छन् । त्यस्तो एकदमै खुसीले मात्तिने र अरू वेला आत्तिने गर्नुहुन्न । सधैँ एकनासको हो । ८४. आफैँ गीत गुनगुनाउनुहुन्छ कि हुन्न ? गुनगुनाउनुहुन्न ।

रक्सी र चुरोट

८५. केही अम्मल छ कि छैन ? अहिले त केही छैन । ८६. पहिला चुरोट–खैनी खानुहुन्थ्यो ? खैनी त होइन, चुरोट खानुहुन्थ्यो । त्यो पनि अहिले त छाडिसक्नुभयो । ८७. दिनमा कति खानुहुन्थ्यो ? धेरै खाने होइन । बिहान खाना खाएपछि, बेलुका भात खाएपछि खानुहुन्थ्यो । ८८. कुन चुरोट खानुहुन्थ्यो ? गैँडा चुरोट । ८९. तपाईंले नखानुस् भन्नुहुन्थेन ? आफू पनि खाइन्थ्यो, त्यसैले त्यस्तो त भनिएन । ९०. अचेल तपाईंले पनि छाड्नुभयो ? म पनि खान्नँ ।

९१. कसरी छाड्नुभयो पछि ? बहुदल आएपछि पनि अलि–अलि खानुहुन्थ्यो । सांसद भएपछि डाक्टरले ‘माछामासु नखानुस्, तपार्इंको ज्यानले सकेन’ भनेपछि सँगै चुरोट खान पनि छाड्नुभयो । ९२. रक्सी खानुहुन्थ्यो कि खानुहुन्थेन ? त्यस्तो खानुहुन्थेन । कहिलेकाहीँ साथीभाइसँग बस्दा छुट्टै कुरा भयो । घरमा त कहिल्यै खानुभएन ।

ठट्टा/रमाइलो ९३. उखान मिसाएर भाषण गर्नुहुन्छ, घरमा कुरा गर्दा कत्तिको उखान भन्नुहुन्छ ? घरमा त भन्नुहुन्न । बानी हो कहिलेकाहीँ त आउँछन् । तर, ‘मैले आज फलानो ठाउँमा यस्तो उखान भनेको, सबैले राम्रो माने’ भनेर सुनाउनु भने हुन्छ । ९४. तपार्इंलाई मन परेको उहाँले सुनाएको उखान ? कुनलाई राम्रो भन्नु, सबै राम्रा लाग्छन् । मैले बरु ‘कहाँबाट सिक्नुहुन्छ यस्ता उखान’ भनेर भन्छु । ९५. अनि, के भन्नुहुन्छ त ? ‘आइहाल्छन् नि’ भन्नुहुन्छ ।

९६. ठट्टा गर्ने, रमाइलो गर्ने बानी कति छ ? घरमा त हँसिमजाक गर्ने गर्नुहुन्न । ९७. जिस्कने कत्तिको गर्नुहुन्छ ? हामीबीच जिस्किने, हँसिमजाक गर्ने कुरै हुन्न । हेर्नुस्, हाम्रो बानी नै छैन त्यस्तो । उमेर छँदा उहाँ पढ्न आउनुभा’थ्यो, भेटै हुँदैनथ्यो । छुट्टिएपछि एक्लै थिएँ, केटाकेटी साना थिए । १५ दिन–महिना दिनमा घर आउँदा घाँस–दाउरा काट्न जानुहुन्थ्यो ।

९८. घाँस–दाउरा नि गर्नुहुन्थ्यो ? गर्नुहुन्थ्यो नि । कस्ता–कस्ता भिरमा गएर घाँस काटेर ल्याउनुहुन्थ्यो । एकपल्ट छुट्टीमा आउँदा वर्ष दिनलाई पुग्ने दाउरा जम्मा पार्नुहुन्थ्यो । भिरको मह काढ्न त्यस्तै सौखिन । ९९. मह आफैँ काढ्नुहुन्थ्यो ? हो नि । घरमा पुलिसले पनि खोजी गथ्र्यो । जंगलतिर ठुल्ठूला भिरबाट समेत मह काढ्नुहुन्थ्यो । गाउँले साथीभाइलाई पनि दिनुहुन्थ्यो ।

१००. जोकहरू सुन्ने/सुनाउने कत्ति गर्नुहुन्छ ? केही गर्नुहुन्न त्यस्तो । टाइम पनि हुन्न त्यस्तो गर्न । १०१. उहाँसँगैका सांसदहरू गाडी चढ्छन्, उहाँ यत्तिका वर्ष सांसद हुँदा पनि पैदल हिँड्नुहुन्थ्यो, नराम्रो लाग्दैनथ्यो ? लागेन मलाई त त्यस्तो ।


  •  
  •  
  •