चिरञ्जीवी नेपाल गभर्नरमा नियुक्त

249
  •  
  •  
  •  

काठमाडौं, ५ चैत (ओएनएस)  : नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. चिरञ्जीवी नेपाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले नेपाललाई गभर्नर बनाउने निर्णय गरेको हो ।

अर्थमन्त्री संयोजक रहेको सिफारिश समितिले डा. नेपाल, डेपुटी गभर्नरहरु महाप्रसाद अधिकारी र गोपाल काफ्लेलाई सिफारिस गरेको थियो । तीन जनाको नाम सिफारिशपछि बसेको मन्त्रिपरिषद्ले नेपाललाई नयाँ गभर्नरमा नियुक्त गरेको हो ।

वर्तमान गभर्नर डा. युवराज खतिवडाको कार्यकाल बिहिबार सकिएपछि नेपाल पाँच वर्षको लागि नियुक्त भएका हुन् । डा. नेपाल प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार थिए । गभर्नरमा सिफारिस हुने चर्चा चुलिएपछि डा. नेपालले दुई साता अघि सल्लाहकार पदबाट राजीनामा दिएका थिए ।

त्यसअघि उनले सुजाता कोइराल परराष्ट्रमन्त्री हुँदा पनि सल्लाहकार थिए । पाल्पामा जन्मिएका डा‌‍.नेपाल अर्थशास्त्रका प्राध्यापक हुन् भने नीजि क्षेत्रका प्रतिनिधिमूलक संस्थामा सल्लाहकार, धितोपत्र बोर्डका अध्यक्ष हुनका साथै उनले सेयर बजार सुधारका लागि काम गरेका थिए ।


  •  
  •  
  •